बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका सुनाचाँदी व्यवसायी

मंगलबार, कात्तिक १८, २०८२

जनकपुर । जनकपुरधामका व्यवसायीहरूले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन् । धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो । सोको विरोधमा जनकपुरधामका व्यवसायीहरूले बजार बन्द गरी विरोध र्‍याली निकालेका छन् । कालो पट्टी बाँधेर कालो झण्डा बोकी जनकपुर बजारमा विरोध र्‍याली निकालेका छन् ।  उनीहरूले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबादलगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् । कुनै पनि पसल वा संघ संस्थामा छापा मार्नु अघि निश्चित प्रक्रिया पूरा गर्नुपर्नेमा हावादारी हिसाबले प्रहरीले छापा मारेको आरोप जकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठले लगाए ।  प्रहरीले कानुनी बाटो प्रयोग गर्नुको साटो बल प्रयोग गरेर अध्यक्ष भण्डारीलाई हातपात गरेको प्रति महासेठले आक्रोस व्यक्त गरेका छन् । उनले डिएसपीलगायतको टोलीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार