नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुँदै

महाधिवेशनका दुई कार्यतालिका पेश हुने 
मंगलबार, कात्तिक १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने छन् । आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ ।

महाधिवेशनका दुई तालिका पेस गर्ने तयारी

महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन । सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो । आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो । संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला आज 
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आज (मंगलबार) विशेष भेला बस्दैछ । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला डाकेको हो । भेला मध्याह्न साढे १२ बजे थापागाउँको एक ब्यांक्वेटमा हुने नेता गुरूराज घिमिरेले जानकारी दिए । यसघि गत आइतबारका लागि भेला डाकिएको थियो । तर, पार्टीले गत शुक्रबार केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित गरेपछि यो समूहले आफ्नो भेला पनि पछि धकेलेको थियो । विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार