पारदर्शिता, न्याय र जनउत्तरदायित्वका लागि आन्दोलनको तयारी

शनिबार, कात्तिक १५, २०८२

काठमाडौं । ‘पहिला देश’ नामक संगठनले पारदर्शिता, न्याय र जनउत्तरदायित्वका मागसहित आइतबार माइतीघर मण्डलामा दवावमूलक कार्यक्रम गर्ने भएको छ । संगठनका संयोजक एस.पी. शाहले शनिबार पत्रकार सम्मेलन गर्दै देशभरका नागरिक, विद्यार्थी, श्रमिक र परिवर्तनप्रेमी जनसमुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । विज्ञप्तिमा हालको राजनीतिक, आर्थिक र प्रशासनिक विकृति अन्त्य गर्दै पारदर्शी शासन र जनमुखी राज्य संरचना निर्माण गर्ने अभियान जारी रहेको उल्लेख गरिएको छ । ‘पहिला देश’ का मुख्य मागहरूमा देशभरका सरकारी कार्यालयमा ‘पारदर्शिता डेस्क’ स्थापना गरी सेवा प्रवाहमा खुलापन र जननिगरानी सुनिश्चित गर्नुपर्ने, सहिद परिवारलाई सरकारले घोषणा गरेको राहत रकम तत्काल उपलब्ध गराउनुपर्ने र घाइते आन्दोलनकारीलाई रोजगारीको व्यवस्था गर्नुपर्ने विषयहरू छन् । संगठनले संविधान परिमार्जन सभा तत्काल गठन गरी आन्दोलनका उपलब्धिहरू संस्थागत गर्नुपर्ने, गौरीबहादुर कार्की र अन्य विवादित मुद्दामा सत्य छानबिन गर्नुपर्ने, मिटर ब्याज, लघुवित्त, राहत कोष र घर–जग्गा लिलामीजस्ता आर्थिक अन्याय तुरुन्त रोक्नुपर्ने मागसमेत राखेको छ । त्यसैगरी, आन्दोलनको क्रममा दमन गर्ने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतका जिम्मेवार व्यक्तिहरूलाई गिरफ्तार गरी निष्पक्ष अनुसन्धान तथा कारबाही गर्नुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । संयोजक शाहका अनुसार, आइतबार हुने कार्यक्रममार्फत सरकार र सम्बन्धित निकायहरूमा जनदबाब सृजना गरिनेछ र जनमुखी शासनका लागि निरन्तर आन्दोलन जारी रहनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार