नेकपा एसका नेताहरू अलगिएपछि झलनाथले भने,  ‘सिङ्गोे हुनलाई टुक्रा भएको हो’

शनिबार, कात्तिक १५, २०८२

काठमाडौं । माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू अलगिएका छन् ।  पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गरी ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्ने बताए । अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी त्यहाबाट अलग भएका छौं । अब कसरी बढ्ने भन्ने सन्दर्भमा आज हामी छलफलमा छौं, हामी एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गर्छौ । त्यो भेलामा हामी कसरी भन्ने ढृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्छौ र अगाडि बढ्छौं ।’ उनले अबको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने नेता झलनाथ खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने बताए । ‘हाम्रो संयोजनको जिम्मा हाम्रो वैचारिक नेता घनश्याम भुसालले गरेर जानुपर्छ । अरु कम्रेडहरू पनि हुनुहुन्छ, जो हिजो आदरणीय हुनुहुन्थ्यो उहाँहरू संरक्षक हुनुपर्छ । वैचारिक संरक्षण उहाँहरूको हुनेछ र उहाँहरूको वैचारिक संरक्षणमा हामीहरू अगाडि बढ्ने छौं’, उनले भने ।   यस्तै भेलामा सहभागी भएका नेता खनालले सिङगो हुनलाई टुक्रा भएको भन्दै पार्टी गठन र पूर्नगठन हुनु सामान्य प्रक्रिया भएको बताए ।  ‘टुक्रा भएपछि सिङ्गोे हुन्छ । त्यो सिङ्गोे हुनलाई टुक्रा भएको हो । पूर्नगठन, गठन त प्रोसेस हो । आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनको लागि गरिएको आजको छलफल हो’, उनले भने ।  

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार