माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

माओवादीसँग एकता नगर्ने पक्षले छुट्टै भेला गर्ने
शुक्रबार, कात्तिक १४, २०८२

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा माओवादी माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले एकतामा जाने पक्षमा निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन् । तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, बिजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुली लगायतका नेता एकताको विपक्षमा उभिएका छन् ।  एकताको विपक्षमा उभिएका लक्ष्मण लम्सालले बहुमत पक्ष एकताकै पक्षमा उभिएको बताए । ‘हिजो ८८ जना केन्द्रीय सदस्य थपेको थियो, त्योसहित ४१९ जनाको केन्द्रीय कमिटी भयो,’ उनले भने, ‘त्यसमा अहिलेसम्म २ सयले बोले होलान । त्यसमध्ये बहुमतजसो एकताको पक्षमा देखिए ।’  एकताको पक्षमा खुलेका नेता वामदेव गौतमले एमालेसँग पनि एकता गर्ने लक्ष्यसहित जानुपर्नेमा जोड दिएका थिए ।  ‘बुझेर जानुपर्छ, सबै पार्टीहरूसित, यहाँसम्म कि एमालेसँग पनि जानुपर्छ,’ उनले बैठकमा भनेका थिए, ‘अब हामी यहाँबाट अगाडि बढ्छौँ, त्यहाँभित्र विद्रोह हुन्छ ।’ तत्कालीन नेकपामा मतभेद हुँदा माधव नेपालसहितका नेताहरू अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका थिए । सर्वोच्च अदालतबाट नेकपा एकता भंग भएपछि ब्युँतिएको नेकपा एमालेमा पनि त्यो संघर्ष र विवाद कायमै रहेपछि २०७८ भदौ ९ गते नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । नेपाली कांग्रेस, माओवादीसहित गठबन्धन गरेर जाँदा २०७९ को प्रतिनिधि सभा चुनावमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको थियो । तर, समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसकेपछि एकीकृत समाजवादी १० सिट हुँदा पनि राष्ट्रिय दल बन्न सकेको थिएन ।

माओवादीसँग एकता नगर्ने पक्षले छुट्टै भेला गर्ने
नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षका नेताहरूले छुट्टै भेला राख्ने भएका छन् । शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँगको एकता गर्ने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।  तर, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री र विजय पौडेल, पोलिटव्युरो सदस्यहरूसहित ११ जनाले माओवादीसँगको एकता प्रक्रियामा सहभागी नहुने बताएका थिए ।  समाजवादीको ४१९ जनाको केन्द्रीय कमिटी छ।  एकताको विषयमै निर्णय गर्न कात्तिक १२ देखि केन्द्रीय कमिटीको बैठक बसेको थियो ।  तर, बैठकमा बहुमत बढी नेता एकताको पक्षमा उभिएपछि सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष खतिवडाले दाबी गरे । ‘एकताको विषयमा निर्णय सुनाउँदा कोही पनि विरोधमा बोल्नुभएन,’ उनले भने, ‘कसैले नोट अफ डिसेन्ट पनि लेख्नुभएन ।’ यद्यपि, बैठकमा बोल्ने केही नेताहरूले तत्काल एकता नगर्न नेतृत्वलाई सुझाव दिएका थिए ।  त्यसको सुनुवाई नभएपछि एकतामा नजानेहरूको छुट्टै भेला राख्ने बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले बताए ।  ‘हामी केही दिनमा यसबारे स्पष्ट धारणा बाहिर ल्याउँछौँ,’ उनले भने, ‘पहिला असन्तुष्टहरू बस्छौँ । अहिले सबै साथीहरू हिँडिसक्नुभएको छ । भोलिबाट छलफल हुन्छ। अहिलेसम्म खुलेर बोल्नुभएको छैन । सबैलाई परिपक्क बनाएर एउटा दृष्टिकोण बनाउँछौँ र निर्णय घोषणा गर्छोँ ।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार