जेनजीसहितको त्रिपक्षीय छलफलमा कस्ता विषय उठे ? 

बिहीबार, कात्तिक १३, २०८२

काठमाडौं । जेन जी आन्दोलनपछि जेनजी प्रतिनिधि र राजनीति दलका प्रतिनिधिबीच पहिलो पटक बालुवाटार बैठकमा आमने सामने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जेनजी प्रतिनिधिसहित दलका प्रतिनिधि सम्मिलित चुनाव तयारी सम्बन्धी बैठकमा पहिलोपल्ट बालुवाटारमा दलका प्रतिनिधि र जेनजी प्रतिनिधिबीच आमने सामने भएको हो । बैठकमा राजनीतिक दल तथा जेनजीका प्रतिनिधिहरूले चुनाव तथा सुशासनका मुद्दाहरूमा केन्द्रित भएर छलफल गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । बालुवाटार बैठक सौहार्दपूर्ण रूपले सम्पन्न भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । घोषित चुनावबारे अन्योलका माझ बुधवार प्रधानमन्त्री सुशीला कार्कीले मुख्य राजनीतिक दल तथा जेन जीका प्रतिनिधिहरूलाई बालुवाटार बैठकमा डाकेकी थिइन् ।

के भने जेन जीले ?
विभिन्न दलका १५ तथा जेन जी समूहहरूका पनि १५ जना जति सहभागी बैठकमा सुरुमा जेन जी प्रतिनिधिहरूले धारणा राखेका थिए ।  'ूसरकार, राजनीतिक दल र जेन जी प्रतिनिधिहरूबीचको यो त्रिपक्षीय बैठक हो । औपचारिक रूपमा सरकारले यो पहिलो पटक आयोजना गरेको हो,' मन्त्री खरेलले भने । बैठकको मूल उद्देश्य चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन जी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान र कारबाही गर्ने विषयमा राजनीतिक दल, जेन जी तथा सरकारबीच छलफल गरेर सँगै मिलेर आगामी बाटो तय गर्नु रहेको उनले बताए ।
'खासमा जेन जी प्रतिनिधिहरूले यो आन्दोलन जसरी भयो र जेजस्ता आवाज उठे, तिनको सुनुवाइ हुनुपर्छ भन्ने धारणा राखेका छन् । मुलुकमा सुशासन हुनुपर्छ र भ्रष्टाचारको अन्त्य हुनुपर्छ भनेका छन् । चुनावको समर्थन गर्दै गर्दा सुशासनको सुनिश्चितता र भ्रष्टाचार अन्त्यको सुनिश्चितता पनि सँगसँगै गर्नुपर्छ भनेका छन्,' बैठकमा जेन जी प्रतिनिधिहरूले राखेको धारणाबारे मन्त्री खरेलले बताए ।

दलका भनाइ कस्ता ?
जेन जी प्रतिनिधिहरूले बोलेपछि धारणा राख्ने क्रममा दलका नेताहरूले विशेष परिस्थितिमा बनेको सरकार भएकाले चुनावका निम्ति सहमत भए पनि त्यसको अगाडि सरकारले शान्तिसुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका थिए । 'हामीले युवा पुस्ताका कुराहरू सुन्यौँ। उनीहरूले संविधान मान्ने नै कुरा राखे । चुनाव, सुशासनजस्ता विषय उठे । त्यसमा हाम्रो सहमति नै छ। हामीले यो समयमा उपलब्धि हुँदै नभएको होइन, बरु कमी भयो होला भन्यौँ,' नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भने ।  उनले दलहरूले चुनावबाट पछि नहट्ने तर त्यसका निम्ति सरकारले विश्वासको वातावरण पैदा गर्नुपर्ने धारणा रखेको बताए ।

यसअघिका पहल
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन तथा सार्वजनिक एवं निजी संरचनाहरूमा भएको व्यापक ध्वंसपश्चात् तत्कालीन सरकार विस्थापित भई कार्की नेतृत्वको सरकार गठन भएको थियो । उक्त सरकारको मूल कार्यादेश फागुन २१ गते निर्वाचन गर्नु रहेको छ ।
सरकार गठन भएको एक महिनापछि असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले पहिलोपल्ट सर्वदलीय बैठक डाके, जसमा अन्तरिम प्रधानमन्त्री कार्की अनि मुख्य दलसहित विभिन्न दलका प्रतिनिधिहरू सामेल भए । दल तथा सरकारबीच संवादहीनताको अन्त्य गरेको उक्त छलफल पनि निर्वाचनकै विषयमा केन्द्रित रहेको थियो । तर दलहरूले त्यस्तो बैठक प्रधानमन्त्रीले नै डाक्नुपर्ने र चुनावको वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । त्यसपछि तिहारकै छेकोमा कार्तिक ४ गते प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक डाकेकी थिइन् । उक्त छलफलमा दलहरूले विशेष गरी चुनावका लागि आवश्यक शान्तिसुरक्षाबारे चासो व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका थिए । बुधवार चाहिँ दलका प्रतिनिधिका अतिरिक्त जेन जी भनिने नवयुवा पुस्ताका विभिन्न समूहका सदस्यहरूलाई पनि डाकेर सर्वपक्षीय छलफल गरिएको हो । यस्ता छलफलले चुनावको निम्ति राजनीतिक वातावरण बनाउन मद्दत गर्ने विश्लेषकहरूले बताएका छन् । फागुन २१ गतेको चुनावको निम्ति निर्वाचन आयोगले यसअघि नै निर्वाचन कार्यतालिका ल्याइसकेको छ । अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ भने दल दर्ता गर्न पनि उसले आह्वान गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार