सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् । हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नेभएका छन् । मन्त्रालयहरूको संख्यागत टुंगो लागिसके पनि मन्त्रालयको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । जसपा नेपालले भौतिक विकास मन्त्रालय समेत ४ र जनमत पार्टीले अर्थसहित ३ मन्त्रालय भागवण्डा हुने निश्चित देखिएको छ । यता, माओवादी केन्द्रले ऊर्जा, सिँचाइ तथा खानेपानीसहित दुई मन्त्रालय र नेकपा एकीकृत समाजवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाउने चर्चा चलिरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि एक मन्त्रालय पाउने निश्चित छ । मधेश प्रदेशमा कुल १ सय ७ जना सभासद रहेका छन् । मुख्यमन्त्री सोनलले ५७ जना सभासदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । सरकार गठनका लागि कम्तीमा ५४ जना सदस्यको समर्थन चाहिन्छ । विभाजित जनमतका सिंह र साहले सरकारलाई विश्वासको मत नदिएमा १/१ जना सभासद रहेको दलहरूले साना दलहरूसँग पनि विश्वासको मत लिनका लागि मुख्यमन्त्री सोनलले छलफल गरिरहेका छन् ।