सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् । बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बैठक भोलि अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए । यसअघि गत कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए । यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ । निर्वाचनको तयारीस्वरुप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताए । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका लागि पहल गरिरहेको छ ।