सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । जिल्ला अस्पताल बाजुरामा महिनौँदेखि जीवनजल अभाव हुँदा बिरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जीवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन् । झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जीवनजल)को अभाव हुँदा बिरामीहरूलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन् । झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् । अस्पतालमा लामो समयसम्म जीवनजल नहुँदा बिरामीहरूले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए । अस्पतालमा जीवनजल नहुँदा बिरामीले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जतिसक्दो चाँडो जीवनजल आपूर्ति गरेको खण्डमा आफू जस्तै अन्य बिरामीलाई सहज हुने उनले बताएका छन् । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जीवनजल समयमै उपलब्ध हुन नसकेको बताएका छन् । जीवनजल खरिदको लागि टेन्डर खुलिसकेको र एक दुई दिनमै मूल्यांकन समितिबाट मूल्यांकन गरी कुन कम्पनीको टेन्डर पर्यो उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन् । कार्तिक महिना भित्रै जीवनजल खरिद गरिने उनको भनाइ छ । औषधि खरिदका लागि बजेटको पनि अभाव हुने गरेको अस्पतालले जनाएको छ । सरकारले निःशुल्क औंषधि वितरणको लागि कम रकम दिने हुँदा रकम अभावले नै औंषधि खरिदमा समस्या हुने गरेको हो । यस आर्थिक वर्षमा ९८ प्रकारका निःशुल्क औंषधिको लागि २६ लाख रकम विनियोजन भए पनि उक्त रकमले औंषधि खरिदका लागि अपुग हुने गरेको अस्पतालले जनाएको छ । जीवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले निजी अस्पतालबाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निःशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । निःशुल्क औषधि अन्तर्गत जीवनजल अति आबश्यक पर्ने अन्तर्गत पर्ने गरेको छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जिवनजल नहुदाँ झाडापखालाका बिरामीलाई समस्या हुँदै आएको छ ।