मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

मंगलबार, कात्तिक ११, २०८२

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । बाराको कलैयामा भएको भेटमा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी राजनीतिक समन्वयका विषयमा छलफल भएको थियो । छठ पर्व सकिएपछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री सोनलले जसपा नेपालका केन्द्रीय अध्यक्ष यादवसंग भेट गर्नुलाई महत्वपूर्ण मानिएको छ ।  उक्त भेटलाई मधेश प्रदेशको वर्तमान राजनीतिक समीकरण र सरकार स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाराले जनाएको छ । मुख्यमन्त्री सोनलले प्रदेशसभामा लिन लागेको विश्वासको मत सम्बन्धमा समेत छलफल भएको सो पार्टीका नेताहरूले जानकारी दिएका छन् । स्थानीय राजनीतिक विश्लेषकहरूले यो भेटलाई प्रदेशको राजनीतिक गतिशीलता र आगामी सत्ता समीकरणका सन्दर्भमा महत्वपूर्ण संकेतका रूपमा लिएका छन् ।  मुख्यमन्त्री सोनलले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन् । नेपालको संविधानअनुसार, मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत असोज २९ गते सोनल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि सोनल राजनीतिक भेटघाट तथा छलफल, बैठकमा व्यस्त छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार