Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : स्वास्थ्य मन्त्री

सोमबार, कात्तिक १०, २०८२

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन्  । ‘जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु,’ उनले भनिन् ।  उनले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने बताइन् ।  साथै उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुबै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छिन् । गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन् ।  उनका अनुसार अनावश्यक रूपमा आफन्त वा नातेदारलाई प्राथमिकता दिने, कार्यालयका काममा काखापाखा गर्ने जस्ता व्यवहार पनि भ्रष्टाचारकै रूप हुन् ।  मन्त्री गौतमले स्वास्थ्य क्षेत्रलाई पारदर्शी र जनमुखी बनाउन सबै कर्मचारीलाई इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न आग्रह गरेकी छिन् । उनले भनिन्, ‘कुनै पनि कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । भ्रष्टाचार आर्थिक रुपमा पनि हुन्छ र प्रशासनिक रुपमा पनि हुन्छ । हामीले अनायसै रुपमा काखापाखा गर्ने कुराहरु पनि भ्रष्टाचारकै अंगहरु हुन् । त्यसकारण यस्तो चाँही नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार