सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । सर्लाहीको चर्चित शक्तिपीठ चमेलीमाई मन्दिरमा आर्थिक अनियमितता र घोटाला भएको आरोप लगाउँदै स्थानीय युवाहरूले छानबिनको माग गरेका छन् । आइतबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै युवाहरूले मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आम्दानी पारदर्शी रूपमा सार्वजनिक नगरेको र समितिको रकम व्यक्तिगत खातामा राख्ने गरेको आरोप लगाएका हुन् । स्थानीय युवा दिपक कुमार यादवले व्यवस्थापन समितिका पदाधिकारीहरूले मन्दिरको आयव्ययको वार्षिक हिसाब सार्वजनिक नगर्ने, पारदर्शिता नअपनाउने र आम्दानीको रकम व्यक्तिगत खातामा राख्ने गरेको बताए । अन्य युवाहरूले पनि समितिभित्र मनोमानी र एकछत्र चलखेल रहेको आरोप लगाउँदै सम्पूर्ण आर्थिक गतिविधिको छानबिन गर्न माग गरे । मन्दिरका पूजारी जयबिर झाका अनुसार ‘दक्षिणा मन्दिरमै जम्मा गर्ने र पछि बैंकमा राख्ने गरिन्छ, तर त्यसको लेखाजोखा स्पष्ट छैन,’ उनले भने । सोही क्रममा रसिद काट्ने व्यक्तिले मन्दिरको केही रकम आफूले नै राखेको भए पनि सबै पदाधिकारीको बैठकपछि पारदर्शी हिसाब प्रस्तुत गर्ने बताए । स्थानीयहरूका अनुसार जिल्लाको प्रसिद्ध धार्मिक स्थल चमेलीमाई मन्दिरको सरसफाइ र भौतिक सुधारमा समेत व्यवस्थापन समितिले ध्यान नदिएको गुनासो छ । मन्दिर वरिपरि फोहोरको समस्या, सौचालयको अभाव र सजावटमा बेवास्ता भएको उनीहरूको आरोप छ ।