सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीले अन्तरिम मन्त्रिपरिषद्मा थप ४ जना मन्त्री थप्न लागेकी हुन् । पूर्व स्वास्थ्यसचिव डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनुवार र बब्लु गौतमलाई मन्त्रीमा नियुक्त गर्न लागिएको हो । गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइँदैछ । त्यस्तै श्रेष्ठलाई श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइन लागेको बुझिएको छ । श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने चर्चा थियाे । नयाँ मन्त्री बन्न लागेकामध्ये गौतम पूर्वस्वास्थ्य सचिव, श्रेष्ठ सांस्कृतिक अभियन्ता, सुनार दलित अभियन्ता र गुप्ता हन्ड्रेड ग्रुपका संस्थापक हुन् । शनिबार जेन–जी नेताहरूले मन्त्रीका लागि ७ जनाको नाम सिफारिस गरे पनि उनीहरूले दिएको नामबाट गुप्ता मात्र परेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नयाँ मन्त्रीहरूको शपथ आइतबारै हुनेछ । आइतबार दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ७ असोजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, जलवायु तथा कृषि विज्ञ मदनप्रसाद परियार र पत्रकार जगदीश खरेल मन्त्री नियुक्त भएका थिए । जेन–जी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् । कार्कीले ३० भदौमा रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृहमन्त्री र कुलमान घिसिङलाई भौतिक पूर्वाधारसहित ऊर्जामन्त्री बनाएकी थिइन् ।