सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । तीन दिनदेखि मनुष्मारा खोलामा डुबेर बेपत्ता धनकौल गाउँपालिका–३, हरकठवाकी ११ वर्षीया बालिका सोनी कुमारी साहको उद्धारका लागि सशस्त्रको गोताखोरसहितको टोली खटिएको छ । हिजो साँझ अबेरसम्म खोजी गर्दा अवस्था पत्ता नलागेपछि आज बिहानै देखि पुनः गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजी कार्य जारी राखेको छ । इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी निरन्जन भट्टराईका अनुसार सोनी बिहीवार बिहान आमासँग लुगा धुन र नुहाउन गाउँ नजिकको उक्त खोलातिर गएकी थिइन् । बिहान करिब १० बजे खोलामा पुगेकी उनी दिउँसो १२ बजेतिर नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी हुन् । बालिकाकी आमा जयकुमारी साहका अनुसार आफू लुगा सुकाउन राखेको कपडा लिन किनारतिर पुगेको बेला छोरी खोलामा डुबेको देखेकी थिइन् । तत्काल उद्धारको प्रयास गरे पनि सफल हुन नसकेको उनले बताइन् । स्थानीय र प्रहरीले खोजी गरे पनि केही पत्ता नलागेपछि शुक्रबारदेखि सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दीवासबाट आएको नौ सदस्यीय टोली आज (शनिबार) बिहानैदेखि घटनास्थलमा खटिएर खोजी कार्य गरिरहेको छ । सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीका अनुसार शनिबार बिहानदेखि घटनास्थलदेखि करिब ७ सय मिटर तल महिनाथपुरस्थित पुलसम्म खोजी गरिए पनि बालिकाको अवस्था पत्ता लागेको छैन । उनका अनुसार हालसम्म केही सुराकी भेटिएको छैन । उनले भने, ‘अब डुङ्गाको सहायतामा खोलाको गहिराइ र आसपासका क्षेत्रमा खोजिने छ ।’