सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कांग्रेस र एमालेलाई बाहिर राख्दै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ । लोसपाका प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ५ दलबीच सहमति भएको सहमति अनुसार दलका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगिसकेका छन् । सोनलले प्रदेश प्रमुखलाई भेटेर सरकार बनाउने दाबी पेश गर्दैछन् । लोसपा ८, जसपा १९, जनमत १३, माओवादी (केन्द्र) ८, नेकपा (एस) ६ सहित ५४ सांसदको समर्थनमा लोसपाका नेता सोनलले आज सरकार बनाउने दाबी पेश गर्दैछन् । लोसपा नेतृत्वमा बन्ने सरकारमा साना दल राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि समेट्न गृहकार्य भइरहेको छ । यी तिनै दलका मधेश प्रदेशमा १–१ जना सांसद छन् । तीन दिनदेखि जनकपुरमै बसेर लोसपाका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको नेतृत्वमा एमाले र जनमत मिलेर सरकार बनाउने सहमतिलाई भत्काउँदै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनाउन कसरत गरेका थिए । कांग्रेसले भने आफ्नो नेतृत्वमा बन्नै लागेको सरकारको समीकरण भत्किएपछि नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसित बुधबार बिहानदेखि छलफल गरेका छन् । तर, नेपालको दलका ६ जना सांसद कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गरे पनि बहुमत नपुग्ने देखिन्छ । एमालेका एक प्रदेश सांसदका अनुसार लोसपाको नेतृत्वमा बन्ने सरकारमा नेकपा एस सहभागी हुने लगभग टुंगिएको छ । एमालेसँग २४ र कांग्रेससँग २२ जना सांसद छन् । लोसपाको नेतृत्वमा बन्ने सरकारमा कुन दलका कुन–कुन मन्त्रालय दिइनेमा पनि लगभग सहमति भइसकेको छ । जसपालाई अर्थसहित ४ मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसहित ४ मन्त्रालय, लोसपा, माओवादी (केन्द्र) र नेकपा (एस) लाई २–२ मन्त्रालय दिइने सहमति भएको छ । नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार अपराह्न ४ बजेसम्मको समय तोकेकी छन् ।