सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलगायतका विषयमा छलफल गर्न अन्तरिम सरकारका प्रतिनिधि र जेनजी प्रतिनिधिलाई शीतल निवास बोलाएका छन् । शीतल निवास भित्र प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री र जेनजी प्रतिनिधिहरूबीच छलफल जारी रहँदा शीतल निवास बाहिर भने नाराबाजी भइरहेको छ । वार्ताका लागि सुदन गुरुङको टोलीमात्र शीतल निवासभित्र पस्दा भित्र जान नपाएका जेनजी युवाहरूले बाहिर नाराबाजी गरेका हुन् । भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको खास नेतृत्वकर्ता नहुँदा नेतृत्व दाबीका लागि युवाहरूबीच विवाद छ । ककसलाई जेनजीका प्रतिनिधि मान्ने भन्ने अन्योल हुँदा सरकार पनि अप्ठेरोमा परेको छ। यद्यपि आन्दोलनयताका हरेक वर्तामा सुदन गुरुङ अगाडि सरिरहेका छन् ।
राष्ट्रपतिसँग छलफल गरिरहेका छन् २२ जेन–जी अगुवा राष्ट्रपति कार्यालय, शितलनिवासमा २२ जना जेनजी अगुवा पुगेका छन् । २३ र २४ भदौको जेन–जी प्रदर्शनपछि सेनासँगको छलफल र त्यसपछिका वार्ता लगायतमा संलग्न जेन–जीहरु शीतलनिवास पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले उनीहरुसँग कुराकानी गरिरहेका छन् । छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी छन् । फागुन २१ गते तोकिएको निर्वाचनलाई समेत सफलतापूर्वक सम्पन्न गराउन जेन–जी अगुवाहरुलाई समेत सहयोग गर्न बैठकमा आग्रह गरिएको छ । छलफलमा जेन–जीका मागहरुबारे समेत कुराकानी हुने बताइएको छ । छलफलमा रक्षा बम, युजनराज भण्डारी, सुधन गुरुङ, मिराज ढुंगाना लगायत छन् । भित्र छलफल चलिरहँदा कतिपय युवाले भने आफूहरु वार्तामा जान नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । शुक्रबार राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्की समेतको उपस्थितिमा दलहरुसँग छलफल भएको थियो ।