सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको पहिरो र बाढी अनि चट्याङ्गमा परी कम्तीमा ४४ जनाको ज्यान गएको जनाएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपालले भने इलाममा मात्रै मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको बताएकी छन् । आइतवार दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार देशभरमा बेपत्ता हुनेको सङ्ख्या पाँच रहेको र १६ जना घाइते भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । केही व्यक्तिको उद्धारका लागि हेलिकप्टर इलाम पुगिसकेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन् । साथै भौतिक क्षतिको विवरण भने सङ्कलन हुने क्रममै रहेको प्राधिकरणले जनाएको छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै विपद्बाट बच्न सरकारले सचेत गराउँदै आएको छ । आइतवार यसै विषयमा बैठक बसेको छ । यसअघि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले शनिवार साँझ सम्बोधन गर्दै नागरिकको सुरक्षा सरकारको चिन्ताको विषय रहेका कारण आवश्यक सहयोग लिन अप्ठेरो नमान्न सर्वसाधारणलाई आग्रह गरेकी थिइन् ।
मानवीय क्षति कहाँकहाँ कति ?
अविरल वर्षाका कारण भएका बाढी, पहिरो र चट्याङका घटनामा ज्यान गुमाएका ४४ मध्ये ३७ जना इलामका विभिन्न ठाउँमा गएको पहिरोमा परेका मानिसहरू रहेका प्राधिकरणले जनाएको छ । "खोटाङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। त्यस्तै उदयपुरमा पनि खोलाले बगाएर अर्का एक व्यक्तिको मृत्यु भएको छ। रौतहट जिल्लामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ," प्राधिकरण प्रवक्ता शान्ति महतले भनिन् । बाँकी दुई मृतक पाँचथरका हुन् । बेपत्ता हुने पाँचजनामध्ये इलामको पहिरोमा एक जना हराइरहेको र रसुवास्थित लाङटाङ घुम्न गएका चार जना खोलाले बगाएर हराइरहेका प्राधिकरणले जनाएको छ । इलामको पहिरोमा परी आठ जना घाइते भएका र बाँकी घाइतेमध्ये मकवानपुर, भोजपुर र खोटाङमा चट्याङ लागेकाहरू रहेको महतले बताइन् । उद्धारका लागि इलाममा हेलिकोप्टर पुगे पनि घटनास्थलमा अवतरण गर्न अलि कठिनाइ भइरहेको भन्ने जानकारी आएको उनले बताइन्।
इलामको पछिल्लो अवस्था
प्राधिकरण र इलाम जिल्ला प्रशासन कार्यालयले इलाम जिल्लामा मात्रै ३७ जनाको ज्यान गइसकेको जनाएका छन् । इलामकी प्रमुख जिल्ला अधिकारी सुनीता नेपालका अनुसार जिल्लाभरिका सातवटा पालिकामा ३७ जनाको ज्यान गएको छ र १ जना अझै बेपत्ता रहेका छन् । "दुर्गम क्षेत्रहरूमा पहिरोका घटना भएका छन् र सडक अवरूद्ध भएका कारण उद्धारकर्मीहरूलाई घटनास्थलसम्म जान समय लागेको छ," उनले भनिन् । "सन्दकपुरमा पाँचजना घाइते छन् र त्यहाँ हेलिकप्टरबाट उद्धार गर्न पनि कठिनाइ भइरहेको छ ।" यसअघि इलाम जिल्लाकै अर्को ठाउँबाट एकजना गर्भवती महिला र दुईजना पुरुषलाई हेलिकप्टरबाट उद्धार गरी धरानस्थल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको उनले बताइन् ।]
देशैभरिका बाटोको अवस्था केकस्तो ?
सडक विभागका अनुसार शनिवारदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध नागढुङ्गा-मुग्लिन सडक एकतर्फी खुलेको छ। वर्षौँदेखि बेलाबेला समस्या भइरहने गरेको नारायणगढ-बुटवल सडकको दाउन्ने खण्डमा भने समस्या नरहेको विभागले जनाएको छ । त्यस्तै मुग्लिन नारायणगढको तुइनखोला नजिकैको अवरोध हटाएपछि त्यहाँ ट्राफिक आवतजावत खुलेको छ । त्रिभुवन राजमार्गमा पर्ने उर्लेनी डाँडामामा आएको पहिरोका कारण सडक अवरुद्ध रहेको बताइएको छ ।
नेपाल प्रहरीले आइतवार बिहान सार्वजनिक गरेको विवरणअनुसार भने काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल सडक खण्डमा अर्को निर्णय नहुँदासम्मका लागि दुवैतर्फको सवारी साधन रोकिएको छ । त्यस्तै बीपी र अरनिको राजमार्गमा पनि सवारीसाधन रोकिएको छ । अविरल वर्षाका कारण धुलिखेलदेखि प्रहरी चौकी दोलालघाट र काभ्रे-सिन्धुपाल्चोकको सिमानासम्म दुईतर्फी सवारीसाधन अनिश्चित समयको लागी रोकिएको प्रहरीले जनाएको छ । बीपी राजमार्गमा गत बिहीवारदेखि मङ्गलवारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्सलगायत अत्यावश्यक सेवाबाहेकका निजी तथा सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो।
गत बिहीवारदेखि नै रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नं २ घट्टेखोलास्थित पासाङ ल्हामु सडकखण्डमा सडकमाथिबाट ढुङ्गासहित सुकखा पहिरो खसेपछि त्यहाँको बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको छ । त्यस्तै गण्डकी प्रदेशमाको तनहुँका केही क्षेत्रमा सामान्य पहिरो गए पनि सडक सञ्चालनमा रहेको गण्डकी प्रदेश प्रहरी कार्यलयका एसएसपी तुलबहादुर कार्कीले बताएका छन् । गण्डकी प्रदेशतर्फका राजमार्ग सञ्चालनमा भए पनि वाग्मती प्रदेशतर्फका राजमार्ग पहिरोले अवरुद्ध रहेका कारण खास गरी लामो दुरीका ठूला बस चल्न रोक लगाइएको छ। यसले गर्दा पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकहरूलाई काठमाण्डू लगायतका क्षेत्रमा यात्रा गर्न समस्यामा भइरहेको पोखरा संवाददाता कृष्णमणि बराल बताउँछन् । त्यस्तै मेची र कोशी राजमार्गका पनि कैयौँ ठाँउमा पहिरो गएका छन् ।
कोशी ब्याराजमा उच्च सतर्कता
कोशी व्यारेजमा पानीको बहाव पाँच लाख १० हजार क्युसेक नाघेपछि उच्च सतर्कता जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् । "पानीको बहाव लगातार बढ्दै गएपछि व्यारेजका सबै ५६ ढोका खोलिएका छन्। अहिलेसम्म मानवीय घटना भएको छैन । तर उच्च सतर्कता जारी गर्दै अत्यावश्यकीयबाहेकका सवारीसाधनको आवतजावत रोकेका छौँ," मिश्रले भने । जोखिम उच्च रहेपछि जिल्लाभरि नै सुरक्षाकर्मी खटिएको उनले बताए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आइतवार दिउँसो कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । "कोशी प्रदेश र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ," विभागले जनाएको छ । अहिले देशभरि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको हो । त्यस्तै रातको समयमा कोशी, मधेश, वाग्मती प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो जस्तै आइतवार राति पनि कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ ।
आन्तरिक उडान धमाधम
देशका विभिन्न ठाउँमा अविरल वर्षा भएपछि शनिवार सडकमा गुड्ने सवारीसाधनमात्रै नभई आकाशमा उड्ने विमानसमेत प्रभावित भएका थिए । आन्तरिक उडानहरू शनिवार स्थगित भए पनि आइतवार बिहानैबाट सुरु भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल भएपछि आन्तरिक उडानहरू हुन थालेको जनाएको छ । विमानस्थलको वेबसाइटमा काठमाण्डूबाट लुक्ला, बिराटनगर, सुर्खेत, पोखरा, भैरहवा, नेपालगन्ज, भरतपुरमा उडानका लागि बोर्डिङ भइरहेको देख्न सकिन्छ।
राहत र निःशुल्क उपचार गर्न निर्देशन देशभर जारी लगातारको भारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक आइतबार बसेको छ । बैठकले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आठ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ । असोज १७ देखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसबाट भएका जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । प्रतिकार्य कमाण्ड पोष्ट बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ । मनसुनजन्य विपद्बाट प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत र पुनस्र्थापनाका कार्यलाई निरन्तरता दिने निर्णयसँगै प्रारम्भिक क्षति विवरण संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन समेत सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिइएको छ । यस्तै, जोखिमयुक्त सडकमा रात्रीकालीन बस सेवा तत्काल बन्द गर्न र अत्यावश्यक सेवाका सवारी साधनको आवागमन स्थानीय प्रशासनको सिफारिसमा सञ्चालन गर्न सकिने निर्णय गरिएको छ । बैठकले विपद् व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयंसेवक, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेको छ ।