सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । असोज महिनाको तेस्रो साता एकाएक सक्रिय भएको मनसुनका कारण शुक्रबार दिउँसोदेखि सुरु भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । मुख्य राजमार्गदेखि सहायक मार्ग र स्थानीय सडक सञ्जाल प्रभावित छन् । विपद् जोखिम न्यूनीकरणका लागि सरकारले समयमै सूचना जारी गरेका कारण जनधनको क्षति कम भएको छ ।
खराब मौसमका कारण भारत र बंगलादेशतर्फ मोडिएका विमानहरू फर्किन थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सञ्चालन क्रमशः सामान्य बन्दै गएको छ। निरन्तर वर्षा र कम दृश्यता (भिजिबिलिटी) का कारण शुक्रबार दिउँसोदेखि अवरुद्ध हुँदै गएको विमानस्थलको उडान सञ्चालन साँझ ८ बजेपछि क्रमशः सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतया, काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू राति १ बजेसम्म सञ्चालन हुने गर्छन् । तर आजको असामान्य मौसम र उडान अवरोधलाई व्यवस्थापन गर्न, विमानस्थल व्यवस्थापनले अन्तर्राष्ट्रिय उडानका लागि सञ्चालन समय आइतबार बिहान ४ बजेसम्म विस्तार गर्ने निर्णय गरेको थियो ।
आज पनि देशभर पानी पर्ने
आज पनि देशभर पानी पर्ने मौसमविद्हरूले जनाएका छन्। हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । आज कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।
१९ केन्द्रमा जलस्तर खतराभन्दा माथि, मधेश प्रदेश उच्च जोखिममा देशभर अविरल वर्षा जारी रहँदा शनिबार दिनभर मधेश प्रदेशदेखि बागमती प्रदेशसम्मका धेरै जिल्लामा बाढी-पहिरोको उच्च जोखिम बढ्यो । जल तथा मौसम विज्ञान विभाग अनुसार विशेषगरी मधेश प्रदेशका सबै जिल्ला र बागमती प्रदेशका मकवानपुर, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा दिनभर जलस्रोतको जलस्तर तीव्र रूपमा बढ्दै खतराको तहमा पुगेको छ । शनिबार दिनभर वर्षाको मात्रा बढेसँगै मकवानपुर, बारा, रौतहट, ललितपुर, धनुषा, सिन्धुली र पर्साका १९ वटा केन्द्रमा नदीहरूको जलस्तर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काभ्रे-भक्तपुर सिमानामा पर्ने साँगामा पहिरो
काभ्रे र भक्तपुरको सिमामा पर्ने साँगामा पहिरो गएको छ । निर्माणाधिन सडक खण्डमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यलय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिज धाँजुले बताएका छन् । पहिरोले एक लेन पुरेपनि सडक पुरै अवरुद्ध नभएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साढे नौ बजेतिर पहिरो झरेको हो ।
स्वयंसेवी रूपमा काम गर्न भन्दै गृहले केही जेन–जीलाई सिंहदरबार बोलायो
देशभरि बाढी र पहिरोको जोखिम रहेका बेला गृह मन्त्रालयले प्रतिकार्यका लागि जेन–जीलाईसमेत परिचालन गर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षा भई बाढी र पहिरोको जोखिम रहेको बताएका बेला मन्त्रालयका अधिकारीहरूले केही जेनजी अगुवालाई सिंहदरबार बोलाएका हुन् ।
काठमाडौंमा बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
गोसाईंकुण्ड घुम्न गएका ४ जनालाई खोलाले बगायो
भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको रसुवाका डीएसपी हेम शाहीले जानकारी दिए । प्रहरीका अनुसार १६ मध्ये ८-८ जनाको समूहमा हिँडेको उनीहरूको एउटा समूहबाट ४ जनालाई एक्कासि आएको खोलाको बाढीले बगाएको हो ।
बाढीले बीपी राजमार्गको विभिन्न स्थानको सडक कटान
बीपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, भकुण्डे–नेपालथोक सडक खण्ड अर्न्तगत रोशी गाउँपालिकाको वडा नं ९ स्थित बोक्सिकुनामा रोशी खोलाले अन्दाजी १५०-२०० मिटर सडक कटान गरेको, वडा नं ७ स्थित घुमाउनेमा रोशी खोलाले अन्दाजी १५ मिटर सडक कटान गरेको, वडा नं ११ स्थित बुलढङ्गा र डालावेशीमा अन्दाजी १००-१०० मिटर सडक कटान गरेको, वडा नं ११ कै पिप्लेमा अन्दाजी ५० मिटर बाटो कटान गरेको र नमोबुद्ध नगरपालिका वडा नं स्थित ६ चौकीडाँडामा रोशी खोलाले अन्दाजी २० मिटर सडक कटान गरेको छ ।
बाढी प्रभावितका लागि काठमाडौं महानगरका ७० विद्यालय सेल्टर
बाढीको जोखिममा रहेका बस्तीका मानिसहरूको आश्रयस्थलका लागि काठमाडौं महानगरपालिकाले ७० वटा विद्यालय तोकेको छ । मेयर बालेन्द्र शाहका अनुसार ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थलको रूपमा तोकिएको हो । हालसम्म चारवटा विद्यालयमा बाढी प्रभावित परिवारलाई स्थानान्तरण गरिएको छ । प्रभावित बासिन्दा कुलेश्वरस्थित जन विकास विद्यालयमा २५१ जना, त्रिपुरेश्वरस्थित विश्व निकेतनमा ७० जना, गुह्येश्वरीमा ५२ जना, टेकुस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जना बसिरहेका छन् ।
नागढुंगा मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम
वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ ।
मानवीय क्षति शून्य हुने गरी काम गरिरहेको गृहमन्त्रीको भनाइ गृहमन्त्री ओमप्रकाश अर्यालले यसपालिको विपद्मा मानवीय क्षति शून्य हुने गरी काम गर्न निर्देशन दिएका छन् । भौतिक क्षतिका विवरण आइरहेको भन्दै उनले मानवीय क्षति शून्य होस् भन्ने उद्देश्यले आफूहरूले काम गरिरहेको बताएका छन् । ‘मानवीय क्षति शून्य होस् र त्यसमा कुनै पनि हालतमा कमी, कमजोरी नहोस् भनेर निर्देशन गरिएको छ,’ उनले पत्रकारहरूसँग भने ।
चितवन हुँदै काठमाडौं र अन्य जिल्ला जाने सडकमा गाडी चलाउन रोक
चितवन प्रशासनले अर्को सूचना जारी नहुँदासम्म शनिबार साँझ ६ बजेदेखि चितवन हुँदै अन्य जिल्लामा जाने सडकहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका गाडीहरू पहिरो र सडकको अवस्था हेरी प्रशासनको समन्वयमा आउजाउ गर्न सक्ने छन् ।
आँबुखैरेनी-मुग्लिन खण्डमा अत्यावश्यकबाहेकका सवारी साधन बन्द
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड भासिएको छ । उक्त सडक भासिएसँगै रातिको समयमा अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन बन्द गरिएको छ ।
मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी प्रवेश गर्दै सार्वजनिक यातायात
बीपी राजमार्ग बन्द भएपछि सार्वजनिक यातायात मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी जान थालेका छन् । लगातारको वर्षाका कारण मुख्य राजमार्ग बन्द हुँदा पुष्पलाल मार्ग हुँदै यातायातका साधन राजधानी काठमाडौं प्रवेश गरेका हुन् । प्रशासनले रोक लगाए पनि सार्वजनिक यातायातले जबरजस्ती यो मार्ग प्रयोग गरेपछि अधिकांश सवारी साधन दोलखाको किर्नेटारमा रोकिएको दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । किर्नेटार थप जोखिम क्षेत्र भएकाले त्यहाँ रोकिएका ५० भन्दा बढी सवारी साधनलाई चरिकोटसम्मको अनुमति दिइएको छ । ती सवारी साधनमा यात्रा गरिरहेकाहरूलाई चरिकोटमा बास बसाउने तयारी भैरहेको उनले बताए ।
रोशी खोलाले बीपी राजमार्ग कटान निरन्तर वर्षाका कारण जिल्लास्थित रोशी खोलामा पानीको बहाव बढ्दै गएको छ । खोलामा पानीको बहाव बढ्दै खोलाले बीपी राजमार्ग कटान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
रौतहटको सदरमुकाम गौर बजार जलमग्न
लगातारको वर्षाका कारण रौतहटको सदरमुकाम गौर जलमग्न भएको छ । शनिबार दिउँसोदेखि गौर जलमग्न हुँदा स्थानीय जनजीवन प्रभावित बनेको छ । सबैभन्दा बढी डुबान भन्सार क्षेत्रमा छ । अपराह्न ४ बजेसम्मको रेकर्डअनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ । २४ घण्टामा सबैभन्दा धेरै सदरमुकाम गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ । सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास नपाउँदा गौर डुबानमा पर्ने गरेको छ । गौर बजार जलमग्न भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।
पहिरोले हेटौंडा–काठमाडौं जोड्ने तीन वटा मार्ग अवरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मीखोलामा ढुंगा–माटो, लेदोसहितको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजार नजिकै डोढारे खोलामा पानीको बहाव बढेसँगै शनिबार दिउँसोदेखि कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड अवरुद्ध बनेको छ । यस्तै, कान्तिलोकपथ सडकखण्डमा शनिबार दिउँसो भीमफेदी गाउँपालिका–८, बगुवाखोला नजिकै पहिरोले सडक अवरुद्ध बनेको छ ।
तुइनखोलामा ढुंगा झर्न थालेपछि नारायणगढ–मुग्लिन सडक खण्ड पुनः बन्द
तुइनखोलामा ढुंगा झर्न थालेका कारण नारायणगढ–मुग्लिन सडक शनिबार दिउँसो चार बजेपछि दुइतर्फी नै गाडी बन्द भएको भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ ।
अरनिको राजमार्गको ५४ किलोमा ढुंगासहितको पहिरो
अरनिको राजमार्ग अन्तर्गत ५४ किलोमा ढुंगासहित पहिरो झरेको छ । शनिबार दिउँसो करिब ३ बजेको समयमा त्यहाँ ढुंगासहितको पहिरो झरेको ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।उक्त राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरिरहेको प्रहरीले बताएको छ ।
सबैभन्दा बढी वर्षा पर्सामा
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगन्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगन्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । विभागले बारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।
सिन्धुलीको अक्करे भीरमा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भीरमा पहिरो खस्न थालेपछि यातायात आवागमन अवरुद्ध भएको छ ।
हनुमन्ते खोलाको सतही तहमा पानी, डुबानको उच्च जोखिम अविरल वर्षापछि भक्तपुरको जगाती, टुरिजम मार्केट, सल्लाघारी र राधेराधे हुँदै बग्ने हनुमन्ते खोला अहिले सतही तहमा आइपुगेको छ । खोलामा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ । निरन्तर वर्षा जारी रहेमा खोला बस्ती क्षेत्रमा डुबान हुने सम्भावना उच्च रहेको भन्दै खोला छेउछाउका बासिन्दालाई उच्च सतर्कता र पूर्वसावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
मेची राजमार्गको इलाम–ताप्लेजुङ खण्ड सडक बन्द ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाएको छ । शनिबार दिउँसो सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको डिभिजन प्रमुखद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । दिउँसोको समयमा अत्यावश्यक कारणले यात्रा गर्नुपर्ने सवारीसाधनमध्ये १० टनभन्दा बढी क्षमताका ठूला सवारीका लागि मेची कोरिडोर–कञ्चनजंघा–केचना सडक प्रयोग गर्न र १० टनभन्दा कमका साना सवारीसाधनका लागि सिमल–गोलाइ–जोगमाइ–तिल्केनी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
मन्त्री घिसिङले गरे चोभार–गल्छी क्षेत्रको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । उक्त गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको अवलोकन गरिएको हो । मन्त्री घिसिङले धोबीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोरलगायत क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन् ।
फिस्लिङमा पहिरो
इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ : ४५ बजे मुग्लिङ–नागढु्ंगा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
आजसम्म बीपी राजमार्गमा यातायात सञ्चालन गर्न नपाइने
असोज २० गतेसम्म बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ। शनिबार बसेको जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले गरेको निर्णय अनुसार, असोज १८ गते बिहान ९ बजेदेखि असोज २० गतेसम्म बीपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ ।
कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द
कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार बागमती प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भइरहेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्युनिकरण गर्न अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जनाएको छ।