रामेछापमा पनि कर्फ्यु 

बुधबार, भदौ २५, २०८२

रामेछाप । रामेछाप जिल्लामा गए राति जारी गरिएको कर्फ्यु आदेश लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मन्थली र रामेछाप नगरपालिकाभित्रका संवेदनशील क्षेत्रमा पुनः कर्फ्यु लागू गर्ने निर्णय गरेको हो ।  प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कर्फ्यु आदेश दिउँसो १२ बजेसम्म बढाएका छन् । जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनि कर्फ्यु लगाइएको उनले जानकारी दिए ।  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सो निर्णय गरिएको प्रशासनले जनाएको छ । आदेशमा तोकिएका क्षेत्रमा कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा कुनै पनि प्रकारका गतिविधि गर्न रोक लगाइएको छ । कर्फ्यु आदेशअनुसार मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सीमास्थित सुकाजोर खोला पुल अर्थात् बिटारसम्मको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ ।  त्यस्तै, मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सीटीईभीटीसम्मको आवतजावत रोकिएको छ। मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्रमा पनि कर्फ्यु जारी गरिएको छ भने रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्र समेत कर्फ्यु लगाइएको छ । 
यसअघि गए राति १० बजेदेखि आज बिहान ६ बजेसम्मको लागि सोही क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो । तर अवस्था संवेदनशील रहन सक्ने आकलनसहित प्रशासनले फेरि आदेश थप गरेको हो। प्रमुख जिल्ला अधिकारी थापाले आवश्यकताअनुसार सुरक्षा संवेदनशीलता कायम गर्न कर्फ्युलाई निरन्तरता दिनुपरेको हो ।  प्रशासनले तोकिएको समय र क्षेत्रभित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्दै आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ । नागरिकलाई संयमित रहन र सुरक्षा निकायलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार