सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रसिद्ध रेडियोकर्मी एवं गायक वासुदेव मुनालको संस्मरणात्मक पुस्तक ‘आओ ! मेरा प्यारा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !’ लोकार्पण गरिएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित डबलीमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा मुनालका जीवनका स्मृति, सुखदुःखका अनुभव र रेडियो नेपालको यात्रालगायत विषय समेटिएका छन् । बुक हिलले वासुदेव मुनाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा पुस्तकको प्रकाशन गरिएको हो । पुस्तकका संकलक तथा मुनालका छोरा मोहिन मुनालले बुवाको एउटा सपना पूरा गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए । उनले पुस्तकमार्फत रेडियोमा सुनिने वासुदेव मुनालको आवाजसँगै उनको व्यक्तिगत जीवन र यात्राबारे पनि पाठकले जानकारी पाउने बताए । उनले भने, ‘वासुदेव मुनाल एउटा समयको ट्रेडमार्क आवाज हुनुहुन्थ्यो । रेडियो नेपालको बाल कार्यक्रम नसुन्ने मानिस कमै भेटिन्छन् । उहाँको आवाज धेरैले सुने पनि व्यक्तिगत यात्राबारे कमैलाई थाहा छ । त्यही यात्रा सबैसामु ल्याउन बुवाले लेखेका कुराहरू संकलन गरेर पुस्तक प्रकाशन गरेका हौँ ।’ कार्यक्रममा वासुदेव मुनालप्रति सांगीतिक सम्मानसमेत प्रस्तुत गरिएको थियो ।