सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर। गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन शुक्रवार अपरान्हतिर वडा नं.८ डुकुछापमा रहेको चण्डीदेवी आधारभूत विद्यालय पुगे । उनीसँग थिए, पालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल र शिक्षा शाखाका कर्मचारीहरु । नगरप्रमुखको समूहलाई सहजीकरण गरिरहेका थिए, सिएसएन(कोल्याबोरेटिभ स्कूल्स नेटवर्क) का कार्यक्रम व्यवस्थापक नम्रता न्यौपाने र म्युनिसिपल म्यानेजर राजेन्द्र देशारले । उक्त विद्यालयको शिक्षण सिकाई क्रियाकलाप निरीक्षण र अनुगमनका लागि आफ्नो ’टिम‘सहित पुगेका नगर प्रमुख गजेन्द्र महर्जन कक्षा १भित्र पसे । उक्त कक्षाका शिक्षक थिए,दीपक न्यौपाने । सेरोफेरो विषयमा सजीव र निर्जीवबीचको भिन्नता पढाइरहेका ती शिक्षकले विद्यार्थीलाई मार्कर देखाए । ती शिक्षकले मार्कर देखाउँदै गर्दा नगरप्रमुख शिक्षक जस्तै भएर सोधेँ , यसले के गर्छ ? विद्यार्थी पर्जुना दनुवारले जवाफ दिइन्– लेख्छ । कक्षाको माहौल एकदमै रमाइलो थियो । कक्षा २ मा जनावरहरुको बारेमा पढाई भइरहेको थियो । उक्त कक्षाको शिक्षण सिकाइ क्रियाकलाप अवलोकन गरिरहेका थिए, पालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल । प्रभावकारी तरीकाले यो कक्षाकोठामा पढाइरहेका थिए शिक्षक विष्णुहरि दनुवारले । त्यसैगरी अन्य कक्षाको शिक्षा शाखाकी प्रमुख विद्यालय निरीक्षण्क सुनिता महर्जन, शिक्षा शाखाका वरिष्ठ अधिकृत प्रकाश भट्ट लगायतले अनुगमन गरेका थिए । विद्यालयको भवन उद्घाटन, शिलान्यास कार्यक्रममा मात्रै पुगेर रिवन काट्ने जनप्रतिनिधिको आम प्रवृत्ति भन्दा नगर प्रमुख यो विद्यालय पुग्नुको उद्देश्य नितान्त फरक थियो । विद्यालयका प्रधानाध्यापक सिताराम खड्काले नगर प्रमुख कक्षा कोठामा नै बसेर शिक्षकले पढाएको र विद्यार्थीले सिकेको कुरा हेर्नु अत्यन्तै सकारात्मक भएको बताए । यसले शिक्षक र विद्यार्थी दुबैमा उर्जा बढेको बताए । सिएसएनले शिक्षा सुधारको लागि गरेको कामको उनले खुलेर प्रशंसा गरे । सिएसएनकोस्थापना ११ वर्ष अघि भएको हो । सिएसएनले गोदावरी नगरपालिका सहित ५ वटा पालिकाको ५४ वटा सामुदायिक विद्यालयसँग काम गरिरहेको छ । गोदावरी नगरपालिकाको चण्डीदेवी आधारभूत विद्यालयसहित पाँच वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम संचालन भइरहेको छ । नवज्योति माध्यमिक विद्यालय वडा १३ , उदयखर्क माध्यमिक विद्यालय वडा १० , सरस्वती माध्यमिक विद्यालय वडा १२, सरस्वती आधारभूत विद्यालय वडा ६ मा यो कार्यक्रम संचालन भइरहेको छ । यो कार्यक्रमले शिक्षकलाई पाठयोजना बनाउन र कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापलाई सहयोग गर्न गर्न, पृष्ठपोषण प्रदान गर्न सहयोग गर्ने सिएसएनका नम्रता न्यौपानेले बताइन् । उनले भनिन् ,यो कार्यक्रमले शिक्षण सिकाइलाई प्रभावकारी बनाउँछ, यसबाट प्रत्यक्ष लाभ विद्यार्थीले लिनुहुन्छ, रमाएर पढ्न, बुझेर पढ्न, हेरेर पढ्न सहयोग गर्छ । नगर प्रमुख गजेन्द्र महर्जनले सिएसएनले गोदावरी नगरपालिको शिक्षा क्षेत्रको सवलिकरणका लागि धेरै सहयोग गरेको बताए । गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, स्थानीय तह निर्वाचन २०७४लगत्तै देखिको मिहनेत सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि, गुणस्तर र विद्यार्थी संख्यामा देखिएको छ । सिएसएनको सहयोगमा यस विद्यालयको नेतृत्व सहितको टिमले गरेको मिहेनत उत्कृष्ट भएको उनले बताए । विद्यालयका अनुसार यस विद्यालयमा अध्ययनरत एक सय ७९ विद्यार्थी अध्ययनरत छन् । ती मध्य ७३ प्रतिशत दनुवार, १२ प्रतिशत तामाङ र बाँकी अन्य जातजातिका विद्यार्थी छन् । शिक्षक दीपक न्यौपानेले शिक्षकलाई शिक्षण पेशामा रुचि जगाउन र विद्यार्थीलाई पढ्नप्रति रुचि जागृत गराउन यो कार्यक्रमले दिने तालिम , शिक्षणका सीप अत्यन्तै प्रभावकारी भएको बताए । यसलाई गोदावरी नगरपालिकाभित्रका अन्य विद्यालयमा पनि लैजानुपर्ने बताए । उनले भने, ‘शुरुमा त ग्रेड टिचिङ गर्न के सकिएला र !जस्तो लागेको थियो, तर तालिम र सीपले अहिले सजिलो भएको छ ।’ शिक्षक रस्मिता दनुवारले यो कार्यक्रमले बच्चाहरुमा पढाइप्रति जागरुपकता बढेको बताइन् । शिक्षक दुर्गा रायमाझीले यो कार्यक्रमले पढ्न पढाउन सजिलो भएको धारणा राखिन् । गोदावरी नगरपालिकासहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, कीर्तिपुर नगरपालिकामा संचालन भइरहेको आधारभूत साक्षरता तथा गणितीय सीप विकास कार्यक्रम (एफएलएन) शिक्षण , सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन प्रयोगमा ल्याइएको प्रसिद्ध र प्रभावकारी कार्यक्रम हो ।