नेपाल रूबेलामुक्त देश घोषित, रोग निवारणमा सक्रियता 

सोमबार, भदौ ९, २०८२
Global Ime Bank

काठामडौं । नेपालले जनस्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै रूबेला रोगलाई निवारण गरेको औपचारिक घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले २०८२ साल भदौ २ गते नेपालले रूबेला रोग निवारण गर्न सफल भएको घोषणा गरेको हो । यससँगै नेपाल, दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौं मुलुक बनेको छ । सन् २०१२ मा सुरु गरिएको राष्ट्रिय खोप अभियानअन्तर्गत ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै दिइएको दादुरा–रूबेला खोप, पछिल्लो एक दशकको निरन्तर प्रयास र खोप सेवाको सुदृढीकरणले यो सफलता सम्भव भएको हो । सन् २०१५ र २०२३ को भूकम्प तथा कोभिड–१९ महामारीजस्ता संकटबीच पनि नेपालले २०१२, २०१६, २०२० र २०२४ मा रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गरेको थियो । यी अभियानहरूले जीवनरक्षक खोपको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए । नेपालले दादुरा–रूबेला रोगको निगरानी प्रभावकारी बनाउँदै प्रति १ लाख जनसंख्यामा कम्तीमा २ जना शंकास्पद बिरामी पहिचान गर्नु पर्ने अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै, ८ जना भन्दा बढी बिरामी पहिचान गर्ने दर कायम गरेको छ । देशभर रहेका तीनवटा प्रयोगशालामा शंकास्पद बिरामीहरूको नमुना परीक्षण हुँदै आएको छ भने १५ वटा अस्पतालमार्फत जन्मजात रूबेला सिन्ड्रोमको निगरानी पनि सञ्चालनमा छ । नेपाल सरकारले ‘पूर्णखोप वडा’, ‘पूर्णखोप पालिका’ हुँदै ‘पूर्णखोप जिल्ला’ घोषणालाई प्राथमिकतामा राख्दै २०७९/८० मा पहिलोपटक देशका सम्पूर्ण ७७ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेको छ । नेपालमा नियमित खोप कार्यक्रमअन्तर्गत दादुरा–रूबेला खोपको कम्तीमा १ मात्राको कभरेज सन् २०२४ सम्ममा ९५ प्रतिशत पुगेको छ । यस उपलब्धिमा सरकारका प्रयाससँगै विकास साझेदार संस्थाहरूको पनि महत्वपूर्ण सहयोग रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण–पूर्वी एसियाली मुलुकहरू मध्ये भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे र अब नेपालले रूबेला निवारण गरिसकेका छन् । दादुरा निवारणमा भने नेपालले अब थप तीव्र प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताए । नेपालको यो सफलता, खोप अभियान तथा जनस्वास्थ्य सुरक्षामा गरिएको दशकौं लामो लगानीको परिणाम भएको समेत उनले बताए । उनले भने, ‘करिब १५ वर्षको अथक प्रयासपछि देशलाई रूबेला मुक्त बनाउन सकेका छौं । डब्लुएचओले नेपाललाई रुबेला मुक्त देश घोषणा गरेको छ । डब्लुएचओ, युनिसेफ जस्ता संस्थाहरुको सहयोगबाट सम्भव भएको हो । अबको प्राथमिकता भनेको यो उपलब्धिलाई दीगो बनाउँदै आगामी वर्षहरूमा दादुरा निवारणको लक्ष्यमा पुग्नु हो ।’ 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार