सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । पर्साको वीरगंजमा हैजाको संक्रमण देखिएपछि मधेश प्रदेश सरकारले उपचार तथा संक्रमण नियन्त्रणका लागि हरसम्भव उपाय अवलम्बन गर्ने तयारी गरेको छ । यसका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको छ । कार्यवाहक मुख्यमन्त्री सरोजकुमार यादवले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउने र थप फैलिन नदिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिएका छन् । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए । उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरलाई वीरगंज पठाइएको छ । शुक्रवार राति वीरगन्ज–१२ मुर्ली टोलमा हैजा संक्रमण देखिएकोमा शनिवारसम्म मध्यान्हसम्ममा वडा नम्बर ११, १३ र १६ मा हैजा फैलिएको छ । ३० भन्दा बढी बिरामी र झाडापखालाले तीन जनाको मृत्यु भएपछि वीरगन्ज महानगरमा हैजाले जनजीवन त्रसित बनाएको छ ।
हैजा प्रभावित वीरगन्जमा टोली परिचालन खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको छ । वीरगञ्ज महानगरपालिकामा हैजा रोगका विरामी भेटिएपछि त्यहाँको खानेपानी परिक्षणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली खटिएको र टोलीले पानी परिक्षणको कार्य सुरु गरेको मन्त्री यादवले बताए । उनले भने, ‘तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या छ । यतिबेला वीरगञ्जमा हैजाका बिरामीहरू देखिनु निकै चिन्ताको विषय हो । हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न टोली खटाएका छौँ ।’ यसैगरी मन्त्री यादवले हैजा नियन्त्रणका लागि सरकार पूर्णरूपमा संवेदनशील रहेको बताए । यादव पनि अहिले हैजा प्रभावित क्षेत्रमा पुगेर मुर्ली लगायतका क्षेत्रहरू तथा नागराणी अपस्तामा पुगेर त्यहाँ उपचार गराई रहेका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापनको अवस्था अध्ययन गर्नुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने सम्भावना भएकाले पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायतका आवश्यक सामग्रीहरू सहितको टोली तत्कालै वीरगञ्ज पठाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।