सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जापान सरकारले नेपाललाई करिब १६ लाख मात्रा जापानमा बनेको अस्ट्राजेनेका खोप सहयोग स्वरूप उपलव्ध गराएको छ । यो विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् उपलब्ध गराउन लागिएको छ । जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले मङ्गलवार नेपाललाई खोप उपलव्ध गराउने घोषणा गरेका हुन् । खोप जापानबाट नेपालमा मध्य जुलाईदेखि अगस्टको अन्त्यसम्ममा ल्याइपुर्याइने बताइएको छ । नेपालका लागि जापानी राजदूत किकुटा याटकाले खोप अनुदान नेपाल र जापानबीचको लामो मैत्रीसम्बन्धको प्रतिवम्बित भएको जनाएका छन् । याटकाले यसबारे नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गर्ने र त्यसले नेपालको कोभिड खोप अभियानमा सहयोग पुर्याउने नेपालस्थित जापानी दूतावासले जनाएको छ।
जापानी सहयोग वृद्धवृद्धालाई ‘जापानमा बनेका आस्ट्राजेनेका खोप पहिलो मात्रा लगाइसकेका वृद्धका लागि प्रभावकारी सहयोग हुन सक्छ’ दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री केपी ओलीले मङ्गवार राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि जापानी खोप पहिलो मात्रा लगाएका वृद्धवृद्धालाई दिइने बताएका छन् । बाँकी खोप युवाहरूलाई दिन सकिने पनि विज्ञप्तिमा उल्लेख छ । कोभिड महामारीमा जापानले अरू पनि सहयोग उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ । तीन सय जति अक्सिजन जेनेरेटर, २५ ब्लड ग्यास एनालाइजर र २५ यताउता लग्न मिल्ने मोबाइल अल्ट्रासाउन्ड इमेज डायग्नस्टिक सीस्टम सहयोग गरिएको र ६ वटा जापानमा बनेका एम्बुलेन्स अक्टोबर सम्ममा नेपाल आइपुग्ने पनि जापानी दूतावासले जनाएको छ।