दोस्रो मंगलादेवी स्मृति रेटिङ चेस सुरु

बुधबार, असार ४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २७ को आयोजनामा दोस्रो मङ्गलादेवी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । नेपाली कांग्रेस पार्टीबाट काठमाडौँ महानगरको मेयर पदकी प्रत्याशी तथा महिला नेतृ सृजना सिंह र वडा नं. २७ का अध्यक्ष योगेश कुमार खड्गीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे। निःशुल्क दर्ता गरिएको उक्त प्रतियोगितामा नेपालका शीर्षस्थ खेलाडीहरूसहित जम्मा ७६ खेलाडीहरूले सहभागिता जनाएका छन् । क्लासिकल विधामा सञ्चालन भइरहेको प्रतियोगितामा खेलाडीलाई प्रत्येक खेलका लागि ६० मिनेट प्लस ३० सेकेन्ड इन्क्रिमेन्टको समय प्रदान गरिएको छ । कूल ९ चरणको खेल मध्ये पहिलो दिन दुई चरण सम्पन्न भएका छन् । अन्नपूर्ण स्कुलमा सम्पन्न दोस्रो चरणको खेलपछि कुशल बेलबासे र आभाष तिवारीले दुई–दुई अंक जोड्दै संयुक्त शीर्ष स्थानमा उक्लिएका छन् । प्रतिस्पर्धामा २० जना खेलाडीले समान दुई अंक जोडी एफएम क्षितिज भण्डारी, सीएम पुरुषोत्तम सिलवाल, रिसोन थापा, आशिष फुयाल, प्रकाश चन्द्र नेपाल, शैलेन्द्र न्यौपाने, धिरेन राई र जनार्दन शर्मा शीर्ष १० औँ स्थानमा रहेका छन् । यसैगरी, कमल श्रेष्ठ, सीएम नवीन टण्डुकार, महेन्द्रकुमार साम्बा हाम्फे, सन्देश श्रेष्ठ, सुशील सुवेदी, विनय थापा, सुरज सिंह, सम्यक श्रेष्ठ, कृष्ण प्रसाद सिग्देल र राजकुमार राई समान अंकसहित शीर्ष २० स्थानमा रहेका छन् । महिला खेलाडीहरूको समूहमा ओमन नेशनल च्याम्पियन सिन्दिराज जोशी, विनिता कपाली, प्रतिमा बास्कोटा, अग्रता आचार्य, रिया श्रेष्ठ, कुसुम घिसिङ र शान्ति धिमालले समान १–१ अंक जोड्दै अग्रता बनाएका छन् । आयोजक समितिका अनुसार तेस्रो चरणको खेलदेखि प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ भने प्रतियोगिता आगामी शनिबारसम्म चल्ने छ । xWeCw7Lb-1750259940.jpg
 

अन्तर वडा टिम च्याम्पियनसिपमा द्वितीय हुने वडा २७ का खेलाडीलाई नगद र ट्र्याकसुटसहित सम्मान

काठमाडौँ महानगरपालिका वडा नम्बर २२ द्वारा गत महिना आयोजित अन्तर वडा टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगितामा वडा नम्बर २७ का खेलाडीहरू महेश्वरलाल डंगोल, राजेन्द्र बज्राचार्य र विनिता कपालीले उपविजेता भएका थिए । कार्यक्रममा प्रमुख अतिथि सृजना सिंहले उप विजयी टिमका खेलाडीहरूलाई उल्लेखनीय प्रदर्शनको कदरस्वरूप जनही नगद ७ हजार रुपैयाँ र ट्र्याकसुट प्रदान गर्दै सम्मान गरिएको छ ।  महिला नेतृ सृजना सिंहलले बौद्धिक चेस खेलमा युवा पुस्ताको सहभागिता दिनानुदिन बढ्दो देखिनु सकारात्मक संकेत भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले प्रतिभाको पहिचान र विकासमा टेवा पुर्‍याउने धारणा व्यक्त गरे ।
२७ वडाका अध्यक्ष योगेश कुमार खड्गीले द्वितीय स्थान प्राप्त टिमका सदस्यहरूलाई आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । 

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार