सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका खोलेका छन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा तनहुँले म्याग्दीमाथि एकपक्षीय प्रदर्शन गर्दै १७७ रनको फराकिलो जित हात पार्यो । टस हारेर ब्याटिङमा उत्रिएको तनहुँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२४ रनको विशाल योगफल खडा गर्यो । कृष ऐरले ४८ बलमा ५ चौका र ११ छक्कासहित शतकीय पारी खेले । उनले १०२ रन बनाएर ‘म्यान अफ द म्याच’ बने । दिपेश अधिकारीले पनि २५ बलमा ५१ रन बनाए । लक्ष्य पछ्याउने क्रममा म्याग्दी १४.४ ओभरमै ४६ रनमा समेटियो । रोशन कार्की बाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन् । तनहुँका सन्दीप पराजुलीले ३, चन्द्रकान्त पौडेलले २ विकेट लिए भने अन्य ५ बलरले समान १–१ विकेट लिए । दोस्रो खेलमा स्याङजाले बाग्लुङलाई ७८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको स्याङजाले ९ विकेटको क्षतिमा १७८ रन बनायो । कप्तान सन्दीप खत्री क्षेत्रीले ३३ बलमा ६ चौका र ४ छक्का सहित ६१ रन बनाए । जवाफमा बाग्लुङको इनिङ्स १०० रनमै सीमित रह्यो । अश्वनी रानाले ३ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएर ‘म्यान अफ द म्याच’ बने । यी जितसँगै समूह ‘ए’ मा स्याङजा र तनहुँ दुवैले २ खेल जित्दै ४–४ अंक बनाएका छन् भने म्याग्दी र बाग्लुङ अंकविहीन छन् । आज हुने अन्तिम लिग खेलमा तनहुँ र स्याङजाबीचको भिडन्तले समूह विजेता तय गर्नेछ । पहिलो खेल म्याग्दी र बाग्लुङबीच हुनेछ । प्रतियोगिता गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा प्रदेश खेलकुद परिषद्को प्रवद्र्धनमा सञ्चालन भइरहेको छ । विजेता टिमले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।