सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल बुद्धिचाल महासङ्घको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा चलिरहेको प्रथम जुनियर नेशनल चेस च्याम्पियनसिप अन्तर्गत छात्रातर्फ काठमाडौँका रिया श्रेष्ठले एकल अग्रता कायम गर्न सफल भएकी छन् । बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा चलिरहेको युवा राष्ट्रिय चेस प्रतियोगितामा रिया श्रेष्ठले पाँच चरणको खेलमध्ये ४.५ अङ्क जोडेर अग्रता कायम गरेकी छन् । ओलम्पियाडमा छनोट भएकी रियाले प्रतिद्वन्दी नयुमा मगर, उज्जिभनी कँडेल, निहाना श्रेष्ठ र प्रेसियस अधिकारी माथि जित दर्ता गरेकी थिइन् भने विविशा तामाङसँग बराबरी खेल्न पुगेकी थिइन् । दोस्रो दिनको स्पर्धामा प्रेसियस अधिकारी, एन्जेल महर्जन, दानिशा पुरी र नेलिसा ओझाले समान ४ अङ्क प्राप्त गर्दै संयुक्त रुपमा दोस्रो स्थान ओगट्न सफल भएका छन् ।
यता पुरुषतर्फ ६ चरणको खेल सम्पन्न हुँदा रिसोन थापा र सीएम पुरुषोत्तम सिलवाल समान ६ अङ्क जोडेर संयुक्त रूपमा अग्रता कायम गरेका छन् । जारी चेस प्रतिस्पर्धामा आद्यान्त काफ्ले, प्रतीक सुवेदी, एआईएम अभीक शाह, अभिनभ पाण्डे, युनिक गौतम, स्वर्णिम दुवाल र खिमबहादुर पुन समान ५ अङ्क बनाउँदै संयुक्त दोस्रो स्थान ओगट्न सफल भएका छन् । प्रतियोगिता स्विस लिग क्लासिकल ६० मिनेट ३० सेकेन्ड इनक्रिजमेन्टका बाकी चरणको खेलमा भोलि रिसोन थापा र सीएम पुरुषोत्तम सिलवाल, प्रतीक र एआईएम अभीक, आद्यान्त र स्वर्णिम, खिम बहादुर र सतिश शाह बीच हुनेछ । प्रथम राष्ट्रिय जुनियर चेस प्रतियोगिताका विजेता खेलाडीले कुल २ लाख ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। जसमा छात्र तथा छात्रा समूहका प्रथम देखि पाँचौं स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ४० हजार, २५ हजार, १० हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी ११० युवा खेलाडी मध्ये ८, १०, १२, १४, १६ र १८ वर्षका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मानित गर्ने छन् ।