सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ । बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाउन सफल भए । उनले ९९ बलमा ७८ रनमा आउट भए । यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन बनाए । कप्तान रोहित पौडेल ३९ बलमा २३ रन बनाउँदै आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा १९ रन बनाए । भीम सार्की २६ बलमा ११ रनमा आउट भए । नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए । यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे। विक्रमजित सिंहलाई ३८ रन बनाए। ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए। यो जितसँगै नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ ।