लोपोन्मुख बासमती धानको व्यावसायिक खेती

सोमबार, असार २१, २०७८


झापा । पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिस्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले  राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती शुरुआत गरेको छ । झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ । शनिवार सयभन्दा बढी रोपाहार लगाएर परम्परागत रुपमै धुमधामका साथ रोपाइ गरेको थियो । स्थानीय १३  किसानको ५बिगाहा जमिन प्रतिबिगाहा वार्षिक रु ३५ हजारका दरले भाडामा लिइएको उनले जानकारी दिए । आगामी वर्षदेखि झापामै सयौ बिगाहामा बासमाती धानको खेती विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए । कम्पनीको झापाका संयोजक धनञ्जय चुँडालका अनुसार गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइव्रिड कालो नुनिया र रैथाने बासमतीको विऊ रोपिएको छ ।
स्थानीय डिल्लीप्रसाद सेढाईंले कम्पनीलाई चार बिगाहा जग्गा भाडामा दिइको जानकारी दिए भने बिगतमा आफुले उत्पादन गरेको धान समयमै बिक्री नहुने, विचौलियाका कारण सस्तो मूल्यमा बेच्नुपर्ने, खेतीमा मजदूर नपाउने आदि कारणले हैरान भइरहेको अवस्थामा कम्पनीले जग्गा लिजमा लिँदा खुशी लागेको प्रतिक्रिया पनि दिए । यस बर्ष कम्पनीले परम्परागत रुपमै खेती गरेको कारण खेत जोत्न, बीऊ उखेल्न र रोपाई गर्न स्थानीयबासीले नै रोजगारी पाएका छन् । अर्को सालदेखि यान्त्रिकीकरण गरेर खेती गरिने कम्पनीले जनाएको छ ।
जिल्लामा कूल ८७ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भइरहेको छ । तीमध्ये ६ देखि ७ प्रतिशत मात्र बासमती धानको खेती हुँदै आएको कृषिज्ञान केन्द्रका  विज्ञ शालिकराम भट्टराईले जानकारी दिए । अन्य धानको तुलनामा यसको उत्पादन कम हुने र पाक्ने समय पनि बढी हुने हुँदा किसानहरुको यसप्रति खासै रुची नभएको उनको भनाइ छ ।  रोपेको १२० दिनमा मन्सुलीलगायतका धान पाक्ने भए पनि बासमती धान १५० दिनमा मात्र पाक्ने उनको भनाइ छ । थोरै भए पनि झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र दक्षिण क्षेत्रमा बासमति धानको खेती हुने गरेको छ । 
झापा, मोरङ र सुनसरीका लागि नमूना परियोजनाका रुपमा गौरादहमा यसले धान खेती गरेको जनाएको छ । अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार