प्रधानमन्त्री ओलीले बहिष्कार गरे मानव अधिकार आयोगको कार्यक्रम !

मंगलबार, जेठ १३, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानवअधिकार आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा अनुपस्थित भएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रमुख अतिथिका रूपमा सम्बोधनका लागि समेत निम्तो पाएका प्रधानमन्त्री ओली अन्तिम समयमा कार्यक्रममा उपस्थित नहुने जानकारी दिइएको बताइएको छ । आयोगले साढे ११ बजे प्रधानमन्त्री ओली आउने गरी कार्यक्रमको आयोजना र सुरक्षा व्यवस्थापन गरेको भए पनि कार्यक्रम सुरु भएपछि प्रधानमन्त्री नआउने जानकारी गराइएको थियो । कार्यक्रममा सरकारका मुख्यसचिव, सचिवहरूको उपस्थिति रहने गरी कार्यक्रम तय गरिएको थियो । सरकारका उच्च पदस्थ व्यक्ति कोही पनि उपस्थित भएनन् । आयोगले वर्षेनी प्रधानमन्त्रीकै उपस्थितिमा वार्षिकोत्सव मनाउने गरेकोमा यो पटक उपस्थित नभएपछि आयोगले सोमबार बक्तव्य  निकालेर प्रधानमन्त्री ओलीलाई उत्तेजित गराउने अभिव्यक्ति नदिन दिएको चेतावनीका कारण उनी रिसाएको विश्लेषण गरिएको छ । प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको व्यस्त तालिका भएकाले जान नसकेको बताएको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते एमालेका कार्यकर्तालाई काठमाडौँ कब्जा गर्नुपर्ने निर्देशन दिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न भनेको थियो । आयोगले भनेको थियो, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्ने लगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।'

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार