सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट। रौतहटमा औषधि पसल अनुगमन गर्न गएका औषधि ब्यवस्था विभाग बिरगंजका कर्मचारीमाथि कुटपिट भएको छ । भारतीय सीमासँग जोडिएको जिल्ला रौतहटको राजपुर नगरपालिका–४ स्थित औषधि पसल अनुगमन गर्न गएका विभागका कर्मचारीमाथि स्थानीय महिला र गाउँलेहरुले कुटपिट गरेका हुन् । विभागमा दर्ता नगरी औषधि पसल चलाएको, प्रतिबन्धित औषधि समेत बिक्री गरेको उजुरीको आधारमा औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जको टोली सोमबार अनुगमन गर्न जाँदा स्थानीयबाट कुटिएका हुन् । टोलीलाई दर्जनौंको संख्यामा आएका महिला पुरुषले लखेटी लखेटी कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन् । टोलीमाथि कुटपिट र लखेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । स्थानीयको कुटाईबाट फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहले जानकारी दिएका छन् । घाइते जयसवाल र शर्माको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि सोमवार नै डिस्चार्ज भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । विभागका कर्मचारीसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश प्रसाद र जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर रुद्रराज कँडेलसहितको टोली अनुगमनमा गएको थियो । इन्सपेक्टर कँडेलले आफ्नो मोबाइलको डिस्प्ले फुटाइदिएको उनले जानकारी दिएका छन् । दर्जनौं महिला पुरुषको भीडले औषधि व्यवस्था विभागका कर्मचारीको कागजात समेत खोसिदिएको प्रहरीले जनाएको छ । राजपुर गाउँका शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षीदेखि औषधि पसल सञ्चालन गर्दै आएको उजुरी परेपछि विभागको टोली अनुगमनमा गएको हो । रौतहटका सिडियो बिनोद कुमार खड्काले विभागका कर्मचारीको माग अनुसार हाम्रो एकजना र प्रहरीको एकजना प्रतिनिधि पठाएको बताएका छन् । विभागका कर्मचारीमाथि भएको कुटपिटको घटनाबारे अनुसन्धान भईरहेको सिडियो खड्काले जानकारी दिएका छन् । स्रोतका अनुसार औषधि पसले शेख नेक महमदका दाजु भाईले पारिवारिक विवादका कारण केही दिनअघि औषधी ब्यवस्था बिभाग बिरगंजमा उजुरी दिएका थिए । प्रायः सबै ठूला मेडिकल ब्यवसायीसँग विभागका कर्मचारीको सेटिङ रहेको आरोप लाग्ने गरेको छ । आफूहरुसँग कर्मचारीले मासिक रूपमा रकम उठाउँदै आएको स्वयं मेडिकल व्यवसायीहरु बताउँछन् । यिनीहरू सेटिङमा रहेका ठूला ठूला मेडिकल स्टोरहरुमा कहिलै अनुगमन गर्दैनन् एक मेडिकल व्यवसायीले भने । तर, साना साना पसलमा अनुगमनको नाममा रकम असुली धन्दा चलाउने गर्छन ती व्यवसायीले भने । कुनै ठूलो मेडिकल स्टोर बिरुद्द कसैले बिभागमा उजुरी दिएपछि यिनीहरू अनुगमन त जान्छन तर जानु अघि सम्बन्धित व्यवसायीलाई खबर गर्छन् । कर्मचारीले खबर गरेपछि व्यवसायीले मेडिकलको सबै कागजात दुरुस्त राख्छन्, औषधिहरू दुरुस्त बनाउँछन् त्यसपछि मात्रै मेडिकल खोल्छन् । जसको दुरुस्त छैन्, उनको अनुगमनको समयमा ती मेडिकल बन्द हुन्छन् । साना औषधि ब्यवसायी जालोमा पर्छन् किनकि अनुगमन बारे उनीहरुलाई कसैले खबर नै गर्दैनन् एक जना स्थानीयले भने । केही समयअघि रौतहटको कटहरिया बजारमा पनि एउटा सानो औषधि पसलमा अनुगमन टोली छापा मार्न जाँदा ठूलो बबाल भएको थियो । औषधि ब्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगंजको कार्यक्षेत्र अन्तर्गत पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लामा मूल राजमार्गमा ठूला ठूला मेडिकल स्टोर सञ्चालनमा छन् । तर, विभागको टोली त्यहाँ अनुगमन गर्न कहिल्यै जाँदैनन् । अनुगमनमा सहभागी औषधि ब्यवस्था विभाग क्षेत्रीय कार्यालय बिरगञ्जका सूचना अधिकारी ओम जैसवालले गृह मन्त्रालयमार्फत आएको उजुरीको आधारमा राजापुरस्थित औषधि पसल अनुगमनमा गएको जानकारी दिए । स्थानीय महिलाहरुले गाउँमा सेवा दिँदैआएको मेडिकल बन्द गर्न दिँदैनौं भन्दै अनुगमन टोलीमाथि हातपात गरेको सूचना अधिकारी जैसवालले स्वीकारेका छन् । विभागका कर्मचारीले कुन औषधि व्यवसायीसँग सेटिङ गरेका विषयमा आफूलाई थाहा नभएको जैसवालले बताउँदै भने, त्यो आरोप गलत छ ।