फ्रान्समा पनि देखा प¥यो कोरोनाभाइरसको नयाँ प्रकार

शनिबार, पुस ११, २०७७

लण्डन । हालै बेलायत (यूके) मा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको छ । उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ । उनमा लक्षण देखिएको थिएन । फ्रान्सले बुधवार यूकेसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो । तर त्यहाँबाट आफ्नो देशमा आउनेहरूले सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने नियम लगाइएको छ ।
अन्य देशमा पनि
यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो । नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्ने विवरणका माझ थुप्रै देशले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन् । नयाँ प्रकारको भाइरसको सङ्क्रमण रोक्न यूकेमा अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन् । अहिले यूकेमा कोभिड¬–१९ का कारण ७० हजार मानिसको ज्यान गइसकेको छ ।
नयाँ प्रकारप्रति किन धेरै चासो ? नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङग्ल्यान्डमा देखा परेको थियो । केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ । नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण अघि सारिएका छन् ।

  • यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । 
  • यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ ।
  • प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ ।

यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको छ । तर यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन । साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन् ।–बीबीसी 
 

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार