मुम्बई इन्डियन्स आईपिएलको शीर्ष स्थानमा 

राजस्थान रोयल्समाथि फराकिलो जित
शुक्रबार, वैशाख १९, २०८२
मयुर प्लाई

नयाँदिल्ली ।  इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा आर्चरले ३० रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । राजस्थानले पहिलो ओभरको चौथो बलमा नै वैभव सूर्यवंशीको साथ गुमाएको थियो । अर्को ओभरमा यशस्वी जैसवाल पनि १३ रनमा आउट भए । चौथो ओभरमा नितिश रानाको साथ गुमाएको राजस्थानले पाँचौ ओभरमा रियान पराग र शिम्रण हेटमायर गुमाउँदा ४७(५ को दयनीय स्थितिमा पुग्यो ।


तल्लोक्रममा आर्चरले २७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सम्मानजनक योगफलसम्म पुर्याए । मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले ३(३ तथा जस्प्रित बुमराहले २ र हार्दिक पान्ड्या र दीपक चाहरले १(१ विकेट लिए ।
त्यसअघि राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय साझेदारी गरे । पहिलो विकेटको लागि १ सय १६ रनको साझेदारी गर्ने क्रममा रायन र रोहित दुवैले अर्धशतक बनाए । राजस्थानले पहिलो विकेट झार्न ११ ओभर ५ बल नै कुर्नुपर्यो । ३८ बल खेल्दै ७ चौका र ३ छक्का सहित रायन ६१ रनमा आउट भए । उनको विकेट थिक्सनाले लिए। ३६ बल खेल्दै ९ चौकाका साथ रोहितले ५३ रन जोडे। उनी परागको बलमा क्याच आउट भए । यसपछि सूर्य कुमार यादव र कप्तान हार्दिक पाण्ड्याले तेस्रो विकेटको लागि नटआउट ९४ रनको साझेदारी गरे । सूर्य कुमार र हार्दिक दुवैले समान २३ बलबाट समान ४८ रन बनाए । हार्दिकले ६ चौका र १ छक्का प्रहार गरे । मुम्बई ११ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको ११ खेलमा ६ अंक हुँदा प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार