सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुरको बुङमतीकी छोरी हुन् विद्या । मध्य वर्गीय परिवारमा जन्मिएकी विद्याको हुकाई सामान्य थियो । सानैदेखि उनी फरक काम गर्न चाहन्थिन् । समाजले छोरीलाई गर्ने भनि छुट्याएको काम गर्न उनलाई मन लाग्दैन थियो । भात पकाउने, घर सफा गर्ने काममा उनको रुचि थिएन । आमाले पनि विद्यालाई छोरीको रुचि अनुसार नै हुकाईन् । २५ वर्षकै उमेरमा क्यान्सरसँग लडेर विजय प्राप्त गरेकी विद्याको नेतृत्वमा अहिले व्यवसाय संचालन भइरहेको छ । पकाउने काम आमा गर्छिन् । छोरीले व्यवस्थापकीय जिम्मेवारी लिएकी छिन् । भन्छिन् , ‘रेडियोथेरापी र किमो सकिएको ७ वर्ष भयो । ’ ३२ वर्षकी विद्याले संचालन गरेको उद्योगले सेलरोटी, खाजासेट , समयबजी तयार पार्छ । उनको उद्योगको भान्छामा पाक्ने अन्य भान्छामा पाक्ने जस्ता छैनन् । मिसावट रहित खानेकुरा नै उनको विशेषता हो । एक पटक प्रयोग भएको तेल दोस्रो पटक प्रयोग गर्दिनन् । उनको उद्देश्य व्यवसाय गर्नु मात्रै होइन, स्वस्थ जीवनका लागि गुणस्तरीय खानेकुराको प्रबद्र्धन गर्नु हो । विगत १३ वर्षदेखि उनी क्यान्सर मुक्त छिन् । उनी समयले भ्याएसम्म क्यान्सर सचेतना कार्यक्रममा पनि सहभागी हुन्छिन् । क्यान्सर रोगलाई जित्न परिवारको साथ र माया, उपचार खर्च र आत्मविश्वास भएको उनको निक्र्यौल छ । क्यान्सरलाई हराएर पौरखमा तरक्की गरेकी विद्यासँग शब्दपाटी डिजिटल मिडियाकी सम्पादक रमा लुइँटेलले कुराकानी गरेकी छिन् ।
स्नातकोत्तर विषय अध्ययनका लागि विदेश जाने तयारी गर्दै थिएँ । दैनिकी व्यस्त थियो । दौडधूप थियो । फुर्सद थिएन । मन उत्सुक थियो । दिमागमा भने के होला ? कसो होला ? भन्ने भय छदैथियो । जीवन चलिरहेकै थियो । तर, त्यो दिन दिसामा देखिएको रगतले अन्तर्राष्ट्रिय डिग्री लिने मेरो उत्कट इच्छालाई बिट नै मारिदियो । केही दिन त मैले यो कुरा कसैलाई पनि भनिन । यसको कारण आफैं खोज्न थालेँ । निको भै हाइहाल्छ नि भन्दै आफ्नो काममा लागिरहेँ । आफ्नो योजनामा घोत्लिइरहेँ । तर, रगत देखिने क्रम बन्द भएन । त्यसपछि ममीलाई भनेँ । पायल्स हो भन्दै खानेकुरामा मुख बारेँ । गर्मी हुने खानेकुरा खाइन् । तर, रगत देखिन छोडेन । काठमाडौं उपत्पका भित्रका थुप्रै अस्पताल धाएँ । ती सबै अस्पतालले पायल्स भनेनन् । इन्फेक्सन भने । परिवारमा अस्पताल धाएको त परे जाओस्, अस्पताल गएको सम्म पनि रेकर्ड थिएन । औषधिमा पनि सिटामोल आकलझुक्कल खाएको होला । त्यस्तो परिवारमा जन्मिएको, हुर्किएको मान्छे , मलाई अस्पताल धाउँदा कस्तो भयो होला ? मेरो परिवारले के सोच्यो होला ? एलोपेथिक औषधिहरुले नछोएपछि आयुर्वेदिक औषधिले निको हुन्छ कि भन्दै आयुर्वेदिक उपचार तर्फ पनि लाग्यौँ, तर भएन । त्यहाँ पनि इन्फेक्सन हो भन्यो तर पायल्स भनेन । फरक फरक अस्पतालको फरक फरक अनुभव । चिकित्सकको व्यवहारको पनि छुट्टै किस्सा । यी सबै कुरा मस्तिष्कमा बोकेर बलियो मनसहित बयोधा अस्पताल पुगेँ । त्यहाँ चिकित्सकले बायोप्सीको रिपोर्ट नै नकुरी अपरेशन गरिदिनुभयो । किन रिपोर्ट कुरिएन न डाक्टरले हामीलाई भन्नुभयो, न डाक्टरसँग हामीले नै सोध्यौं । धेरैपछि ममीबाट थाहा पाएँ – मलाई मलद्धारको क्यान्सर भएको रहेछ । त्यो पनि दोस्रो स्टेजको । औषधि र अस्पतालबारे अपरिचित जस्तै म मेरो ममीको आड, भरोसा र स्नेहाका कारण झन बलियो भएँ । ममी नै यो रोग जित्नका लागि मेरो साहस, प्रेरणा र हौसला बन्नुभयो । किमोथेरापी र रेडियोथेरापी पुरा गरेर क्यान्सर फ्रि भएको अहिले सात वर्ष भयो ।
अध्ययनका लागि विदेश जाने मेरो योजनामा पूर्ण विराम लाग्यो । तर , मलाई के थाहा थियो भने, यो पूर्ण विराम जीवनमा लागेको होइन । मेरो बाटो मात्रै मोडिएको हो । फरक यति हो,यो बाटो अलि अप्ठ्यारो थियो, चुनौतीपूर्ण थियो । रोेगसँग लड्नु थियो,रोगलाई जित्नु थियो । बयोधामा शल्यक्रिया गरेपनि मैले किमो र रेडियोथेरापी हरिसिद्धीस्थित क्यान्सर अस्पतालबाट लिएँ । किमो लिएपछि एकदमै अनइजी हुन्थ्यो । के गरौँ, कसो गरौँ हुन्थ्यो । खानेकुरा गनाउँथ्यो । वान्ता हुन्थ्यो । यति धेरै निद्रा लागथ्यो कि, म तीन – चार दिनसम्म सुतेको सुत्यै हुन्थेँ । उठेको एक दुई दिनपछि त फेरि किमो लिन जाने बेला भइसक्थ्यो । वान्ता आउने, खाना गन्हाउने, निद्रा लाग्ने क्रम विस्तारै घट्दै गयो । शायद किमोलाई पनि शरीरले स्वीकार गरेर होला यस्तो भएको । क्यान्सरसँग जितेकी ममा अझै पनि केही साइड इफेक्टहरु छन् । वातावरण चिसो हुनु हुँदैन शरीर दुख्छ । खानेकुरा पच्दैन । विशेषगरी प्रोटिनयुक्त खानेकुरा पच्दैन । साग पनि खान हुँदैन । दिसा होल्ड गर्न सक्दिन । शौचालय पुगिहाल्नुपर्छ । मलद्धारको क्यान्सरलाई पराजित गरेका धेरै साथीहरुलाई म भेट्छु । उनीहरुको अनुभव सुन्छु । उनीहरुको भोगाई र मेरो भोगाई त उस्तै उस्तै नै छ । तर साइडइफेक्ट फरक छ । मेरा शरीरमा धेरै समस्या देखिए जस्तो लाग्छ । रोगको पहिचान र उपचार अलि ढिलो भएर, उपचारमा विलम्ब भएर क्यान्सर दोस्रो स्टेजमा पुग्यो । त्यसैले कहिले काहिँ लाग्छ, मैले रोग लुकाएकी । अलि छिटो डाक्टरकोमा गएको भए क्यान्सर दोस्रो स्टेज पुग्दैन थियो कि ।
पासा पुच : खाजा घर । नेपाल भाषाको शब्द पासा भनेको नेपाली भाषामा साथी हो । पुच : लाई नेपालीमा समूह भनिन्छ । यो खाजा घर मलाई क्यान्सर देखिनु अघिदेखि नै संचालनमा थियो । पासा पुचः खाजा घर साथीसंगीको समूह मिलेर खोलेका थियौँ । ठूलो समूह यो खाजाघरमा आबद्ध हुनुहुन्थ्यो । केही समयपछि यो खाजाघर संचालनको जिम्मेवारीमा चारजना मात्रै भयौँ । समयसँगसँगै उहाँहरु पनि लगानी नगर्ने काम मात्रै गर्ने निक्र्यौलमा पुग्नुभयो । व्यवसायलाई राम्रो बनाउन लगानी विना सम्भव छैन । त्यसैले म एक्लैले यो व्यवसाय चलाउने निधो गरेँ । त्यसपछि मेरो परिचय बदलियो । म उद्यमी भएँ । यो व्यवसायको मियो मेरो ममी हो । मैले व्यवस्थापनको काम गर्छु । व्यवसायलाई चुस्त र दुरुस्त राख्न क्रियाशील हुन्छु । मेरो जीवनको मोडिएको बाटोले म व्यवसायी बनेँ । मेरो लक्ष्य त वास्तवमा यो थिएन । होटेल व्यवस्थापनमा स्नातक गरेकी मलाई क्यान्सरले जीवनमा आइपर्ने परिस्थितिलाई स्वीकार गर्न सिकायो । यो व्यवसाय मेरो लागि काम हो, अर्थोपार्जनको एउटा आधार हो, तर अरु धेरैका लागि हौसला हो,प्रेरणा हो । कहिलेकाहिं त आफ्नै कामले पनि आफैंला हौसल दिन्छ । त्यतिमात्रै होइन, मार्गदर्शन पनि । यो मेरो लागि ठूलो उपलब्धि हो । मलाई हेरेर अरु कोही उद्यमी बन्न खोज्दैछ भने त्यो मेरो लागि खुशीको कुरा हो । मलाई साच्चै भन्ने हो भने, हाम्रो समाजले महिलाले गर्ने भनेर छुट्याएको काम गर्नै मन लाग्दैन । भान्सा गर्ने काम पनि त परम्परागत समाजले महिलाको जिम्मेवारीमा पारेको छ । मलाई व्यवस्थापनको क्षेत्र मन पर्छ, त्यसैले यसमा नै समय बढी दिन्छु । यसको अर्थ मलाई खानेकुरा पकाउन आउँदैन भन्ने होइन, सबै खानेकुरा पकाउँछु , ममीले नभ्याउँदा । मलाई कहिले काहिँ यस्तो लाग्छ –मलाई क्यान्सर नभएको भए, म कहाँ हुन्थे होला ? के गर्थे होला? मैले गर्ने काममा के भूमिका हुन्थ्यो होला । पक्कै पनि नेतृत्वदायी भूमिकामा हुँदैन थिएँ । उद्यमी बन्दैन थिएँ । यो रोगले मलाई धकेलेर एउटा संस्थाको नेतृत्व गर्ने ठाउँमा पु¥यायो । त्यसैले मलाई भन्न मन लाग्छ – क्यान्सर तिमीलाई धन्यवाद ।
जब मैले पासा पुच ः खाजा घरलाई एकल स्वामित्वमा ल्याएँ, त्यसपछि खानेकुराको गुणस्तरमा विशेष ध्यान दिन थालेँ । क्यान्सर रोग लाग्नुको पछाडि वंशाणुगत लगायत थुप्रै कारण छन् । ती मध्ये खानेकुरा र जीवनशैली पनि हो भन्ने मैले बुझेकी थिएँ । त्यसैले अर्गानिक खानेकुरालाई प्राथमिकता दिएँ । एकपटक प्रयोग भएको तेल दोहोर्याएर प्रयोग गर्न छाडेँ । खाजा सेटको तरकारीमा प्रयोग हुने मसला पनि आफैं तयार गर्छौ हामी । आफ्नै खेतमा उब्जनी भएको चामलको पीठोबाट यमरी बनाउँछौँ । अर्गानिक सामग्रीको प्रयोगमा जोड दियौँ ।। खानेकुरामा मिसावट हुँदा मानिस स्वस्थ हुन सक्दैन । सेललाई फुलाउन बेकिङ सोडा मिसाउँदैनौँ । मैदा पनि मिसाउँदैनौँ । चिनी विनाको सेल चाहिँ पकाएको छैन । सेल गुलियो हुनुपर्छ भन्ने मान्यताले होला , हामीलाई चिनी विनाको सेलको अडर आएको छैन । माग आयोे भने चिनी विनाको सेल पनि पकाउँछौँ । मिसावटरहित यी खानेकुराको हामी तीन ठाउँमा स्टल राख्छौँ । भनिमण्डल, धोबीघाट र ठमेलको छायाँ सेन्टरमा साताको तीन दिन पासा पुच ः खाजा घरको स्टल राख्छौं । त्यहाँ हाम्रो ओपन किचन हुन्छ । खाजा सेट, यमरी, सेलरोटी हामी प्रत्यक्ष रुपमा नै तयार गर्छौँ । विशेष पर्वहरुमा हामीलाई अडर आउँछ । अन्तर्राष्ट्रिय महिला दिवस, तीज , लगायत अन्य जात्राहरुमा हामीलाई खोज्दै खोज्दै आउनेहरु प्रशस्तै हुनुहुन्छ । तपाईंहरुकोमा अलि महंगो छ भन्नुहुन्छ । नेपालीले गुणस्तरमा खासै चासो दिदैंनन् । बरु २÷४ रुपैयाँ सस्तो नै खोज्छन् । उहाँहरुलाई हो हाम्रोमा महंगो नै भन्छौँ । एक पटक आएपछि उहाँहरुले हामीलाई छोड्नु हुन्न । ‘दुई चार पैसा महंगो भएपनि राम्रो रहेछ , मिठो रहेछ’ भन्नुहुन्छ । हाम्रो पाक्ने यमरी विशेष हुन्छ । यमरीको पीठो एकदमै पातलो हुन्छ । यो हाम्रो विशेषता हो । अन्यत्रको यमरीमा पीठो बाक्लो हुन्छ भन्नु हुन्छ यहाँ आउनेहरु । यमरीको पीठो पातलो बनाउने सीप ममीको हो । ममीबाट मैले पनि यो सीप सिकेको छु । ममी र म नै राम्रो र स्वादिलो यमरी बनाउन सिपालु छाैँ । काम गर्न गाह्रो छैन, मार्केट खोज्न पनि गाह्रो छैन । लगानीको समस्या हो । व्यवसाय संचालन गर्न बैंकहरुले सहज तरीकाले लगानी गर्नुपर्छ । यो विषयमा हाम्रो सरकार गम्भीर छैन । अझैं हामीलाई सरकारले प्रोत्साहित गर्न विशेष व्यवस्था गर्नुपर्छ ।
अचेल म ती दिनहरु सम्झन्छु । उपचारमा हामी भौंतारिरहेका हुन्थ्यौंँ । के कस्तो छ ? के सहयोग गर्नुपर्छ भन्ने बोलीको साथ समेत मिल्दैन थियो । सहयोग नै गर्न त परको कुरा भयो । अस्पतालबाट किमो लिएर आउँदा एबर्सन गरेर आएको भनेर कुरा काट्थे रे गाउँलेहरु । म आफैले त यो कुरा सुनेको होइन । मलाई अरुले नै सुनाउँथे । मैले उनीहरुको कुरालाई वेवास्ता गरँे । उनीहरुको झगडा गर्नु लड्नु मेरो काम होइन भन्ने लाग्थ्यो । मैले उनीहरुलाई वेवास्ता गरेँ । मैले उनीहरुको कुरालाई वास्ता नै किन गर्नुपर्ने थियो र । उनीहरुले मेरो जीवनमा के सहयोग गरेका छन् र ? मलार्ई दुःख पर्दा कहाँ साथ दिए र ? यी कुराले मलाई अझै बलियो बनाउँथ्यो । समाजले त दुःख पर्दा केही गर्दैन । मात्रै प्रश्न गर्छ । आरोप लगाउँछ । मलाई कमजोर बनाउन प्रत्येक पल कोसिस गरिरहन्छ । मलाई अहिले कस्तो लाग्छ भने, मैले जे गरेँ एकदमै ठीक गरेँ । गलत कुरामा दुखी भइन् । घोत्लिएर बसिन् । आत्मबल र आत्मविश्वासलाई कमजोर बनाइन् । आफूप्रति दृढ रहन ममीले मलाई सधैं साथ दिनुभयो । हिम्मत हराउने कुरा कहिल्यै गर्नु भएन । क्यान्सर जित्नको लागि सबैभन्दा पहिला समयमा रोगको पहिचान र उपचार हुनु प¥यो । आफ्नो इच्छाशक्ति र परिवारको माया र साथ अर्को अचूक औषधि हो । ममीले पनि मलाई लागेको रोगको अगाडि कहिल्यै हिम्मत हार्नु भएन । उहाँको हिम्मत हराउन लागि भूभिका खेल्ने धेरै तत्वहरु थिए । सबैभन्दा महत्वपूर्ण त आर्थिर्क व्यवस्थापन थियो । कुनै दिन पनि ममीले पैसा छैन उपचारका लागि, कसरी जुटाउने भन्दै प्रश्न गर्नु भएन । चिन्ता देखाउनु भएन । आर्थिक रुपमा बलियो हुनसक्दा त्यसले दिने आँट अझैं फरक हुने निक्र्यौलमा पुगेँ म । त्यसैले क्यान्सर विजेतलाई कुनै न कुनै रुपमा साथ दिइराखोस् । सहयोग गरिराखोस् । त्यतिमात्रै होइन , बिरामीसँग कसरी बोल्ने, के बोल्ने चेतना दिनका लागि तालिमको पनि व्यवस्था गरोस् ।