Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी

सोमबार, कात्तिक १०, २०८२

मकवानपुर । छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवा विक्रीबाट राम्रो आम्दानी गरेका छन् । छठ पर्वमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहित अदुवाको माग उल्लेख्य रूपमा बढेको छ । यसले किसानलाई राम्रो आम्दानीको अवसर दिएको छ । हेटौंडा–६ का स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् । “प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भयो,” उनले बताए । तिमल्सिनाले एक क्विन्टल अदुवा बिक्री गरेका हुन् भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका छन् । व्यापारीहरू बिरगन्ज, कलैया लगायतका सहरबाट सीधै किसानको बारीमै पुगेर खरिद गर्न थालेका छन् ।

बाँदर आतंकपछि वैकल्पिक बालीको रोजाइ
हेटौंडाका धेरै खेतीयोग्य क्षेत्र बाँदरको आतंकले प्रभावित भएका छन् । बाँदरले धान, मकै, कोदो जस्ता परम्परागत अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू अदुवा र बेसार जस्ता नगदे बालीतर्फ आकर्षित भएका हुन् ।
प्रदेश सरकारको ससर्त अनुदानका साथ हेटौंडा उपमहानगरपालिकाले कृषि सहकारीमार्फत करिब पाँच हजार किलो अदुवाको बिउ ७६ जना किसानलाई वितरण गरेको थियो । नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार पाँच सय किलो बेसारको बिउ २९ किसानलाई वितरण गरिएको छ । बिउ वितरण योजनामा ५० प्रतिशत लगानी प्रदेश सरकारको र बाँकी ५० प्रतिशत सहकारीको रहेको छ । सहभागी किसानहरूले दुई वर्षभित्र लगाएको बिउ बराबर फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । जसले बिउ अर्को किसानसम्म पुग्ने सुनिश्चित गर्छ ।

बाँदर आतंकबाट मुक्ति र नगद आम्दानी
किसान अन्जु ढकाल भन्छिन्, “पहिले बाँदरले सबै बाली नष्ट गथ्र्यो, केही फल्दैनथ्यो । हैरान भएर १० वर्षसम्म बारी बाँझो राखेको थिएँ । अहिले अदुवा र बेसार लगाउँदा राम्रो उत्पादन भएको छ ।” अदुवा खेतीले किसानलाई आर्थिक राहत मात्र दिएको छैन् । बाँदरबाट सुरक्षित बालीको विकल्प पनि बनेको छ । व्यापारीहरू बारीमै पुगेर खरिद गर्ने र नगद हातमै पाउने भएकाले किसानहरूमा उत्साह बढेको छ । छठ पर्वका कारण अदुवाको मूल्य पनि बढेको छ । सामान्यतया प्रति किलो ५०–६० रुपैयाँमा बिक्री हुने अदुवा अहिले ८० रुपैयाँमा बारीमै बिक्री भइरहेको छ । बाँदरको डरले खेती छाड्न बाध्य भएका किसानहरू अहिले अदुवाको हरियो बोटमै मूल्य पाउँदा अत्यन्त उत्साहित बनेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार