गोदावरी नगरपालिकालाई जापान सरकारले दियो दमकल सहयोग 

नगर प्रमुखले दिए जापान सरकारलाई धन्यवाद
बिहीबार, कात्तिक १३, २०८२

बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिकालाई जापान सरकारले दमकल उपलब्ध गराएको छ । भोलेन्टियर कोर नेपालका अध्यक्ष दीपक चौलागाईको सहयोग र समन्वयमा गोदावरी नगरपालिकालाई दमकल प्राप्त भएको हो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आगलागीजन्य विपद् व्यवस्थापनका लागि दमकलले सहयोग गर्ने बताए । उनले भने, ‘ हामीसँग दमकल थिएन, दमकलको आवश्यकता पर्दा छिमेकी पालिकाको सहयोग लिने गरेका थियौंं ।’ नगर प्रमुख महर्जनले जापान सरकारबाट गोदावरी नगरपालिकाका लागि दमकल ल्याउने क्रममा सहयोग, समन्वय गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । उनले भने, ‘यो दमकल ल्याउन गोदावरी नगरपालिकाले चार वर्षदेखि गरेको प्रयास सफल भएको छ, जापान सरकार र  भोलेन्टियर कोर नेपालप्रति विशेष आभार प्रकट गर्छु ।’ गोदावरी नगरले नगर बजेटबाट खरिद गरेको दमकल मंसिर महिनामा आउने नगर प्रमुखले महर्जनले जानकारी दिए । यो दमकल आएपछि गोदावरीसँग दुईवटा दमकल हुनेछन् । विपद् व्यवस्थापनमा गोदावरी नगरपालिकाले गरेको कामको मूल्यांङकन गरेरै दाताबाट दमकल उपलब्ध गराइएको नगरपालिकाको विश्वास रहेको छ ।  दुई वर्षअघि गोदावरी नगरको वन क्षेत्रमा भएको आगलागीका बेला ललितपुर महानगरलगायत अन्य निकायको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो ।  ‘विपद् व्यवस्थापनको लागि पूर्व तयारीअन्तर्गत दमकलको व्यवस्था गरेका हौँ’, नगर प्रमुख महर्जनले भने । दमकल चलाउने जनशक्तिका लागि गोदावरी नगरले तालिमको समेत व्यवस्था गर्ने भएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार