युरोको क्वाटरफाइनल समीकरण पूरा

बुधबार, असार १६, २०७८

काठमाडौं । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । राउन्ड अफ १६ बाट डेनमार्कले वेल्समाथि ४ ० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । समूह ए को विजेता इटालीले अतिरिक्त समयमा लम्बिएको खेलमा अष्ट्रियालाई २ १ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल रहयो । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्स भने चेक रिपब्लिकसँग स्तब्ध हुन पुग्यो । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको डच टोलीलाई चेकले २ ० ले हराएको थियो । त्यस्तै युरोकै सर्वकालीन महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल बेल्जियमसँग पराजित भयो । बेल्जियमले १ ० को जित दर्ता गर्दै अन्तिम ८ मा पुगेको हो । स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै ९ वर्षपछि क्वाटरफाइनल यात्रा गरेको थियो । क्रोएसियाले ३ ३ को बराबरी गरेपनि अतिरिक्त समयमा २ गोल खाँदै बाहिरिएको थियो । विश्वकप विजेता फ्रान्सको यात्रामा पनि स्विट्जरल्यान्डले पूर्णविराम लगाइदिएको थियो । एक समय ३ १ को अग्रता लिएको फ्रान्सले अन्तिम समयमा सम्हालिन नसक्दा टाइब्रेकरमा हार बेहोर्यो । फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पेले पेनाल्टी चुकाएका थिए ।
मंगलबार भएको खेलमा इंग्ल्यान्डले पहिलो पटक युरोको नकआउट चरणमा जर्मनीलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको छ । इंग्ल्यान्डको २ ० को जितमा कप्तान ह्यारी केन र रहिम स्टर्लिङले गोल गरेका थिए । राउन्ड अफ १६ को अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि युक्रेन २ १ को जित हासिल गर्दै अन्तिम ८ मा पुगेको हो ।

क्वाटरफाइनल खेल तालिका

शुक्रबार २ जुलाई  

स्विट्जरल्यान्ड विरुद्ध स्पेन (९राति ९ः४५ बजे) सेन्ट पिटर्सवर्ग 

बेल्जियम विरुद्ध इटाली (राति १२ः४५ बजे) म्युनिख 

शनिबार ३ जुलाई

चेक रिपब्लिक विरुद्ध डेनमार्क (राति ९ः४५ बजे) बाकु

युक्रेन विरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे) रोम 

४ र ५ जुलाईमा विश्राम

सेमिफाइनल

मंगलबार ६ जुलाई

स्विट्जरल्यान्ड-स्पेन तथा बेल्जियम-इटाली विरुद्धको खेलको विजेता टोली (राति १२ः४५ बजे) लन्डन

चेक-डेनमार्क विरुद्ध युक्रेन-इंग्ल्यान्ड (राति १२ः४५ बजे)  लन्डन 

८, ९ र १० जुलाईमा विश्राम

फाइनल

आइतबार ११ जुलाई

(राति १२ः४५ बजे) लन्डन 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  ०५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार