सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । युरो २०२० को आइतबार राति भएका खेलमा चेक रिपब्लिक र बेल्जियम क्वाटर फाइनलमा पुगेका छन् । नेदरल्यान्ड्स लाई २-० गोलको नतिजामा पराजित गर्दै चेक रिपब्लिक युरो २०२० को क्वार्टरफाइनलमा पुगेको हो । यस्तै साविक विजेता पोर्चुगलविरुद्ध १-० गोलको कठिन जित निकाल्दै विश्व नम्बर एक बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ । आइतबार अन्तिम १६ अन्तर्गत हंगेरीको बुडापेस्टमा भएको खेलमा १० जना खेलाडीमा सीमित भएको नेदरल्यान्ड्सविरुद्ध सहज जित निकाल्दै चेक टोलीले ९ वर्षपछि क्वार्टरफाइनल यात्रा तय गरेको हो । पहिलो हाफदेखि नै नेदरल्यान्ड्समाथि निरन्तर दबाब बनाएको चेक टोलीले दुवै गोल दोस्रो हाफमा गरेको हो । नेदरल्यान्ड्सका भरपर्दा डिफेन्डर म्याथिस डी लाइटले चेक टोलीको गोल गर्ने मौकामा हातले बल तानेपछि भिडियो असिस्टेन्ट रेफ्रीले रातो कार्डका लागि पहल गरेका थिए । भिडियो असिस्टेन्ट रेफ्रीको सुझावसँगै साइड स्क्रिनमा रिप्ले हेरेका रुसी रेफ्री सर्जेइ कारासेभले डी लाइटलाई रातो कार्ड देखाएका थिए । डी लाइटले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेपछि डच टोली १० जनामा सीमित भएको थियो । दश जनामा सीमित भएको नेदरल्यान्ड्समाथि प्रभुत्व जमाएको चेक गणतन्त्रले मिडफिल्डर थोमस होलेसले ६८औं मिनेटमा गरेको गोलसँगै अग्रता लिएको थियो । एक जना खेलाडीको घाटा बेहोरेको डच रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको चेक टोलीका लागि उत्कृष्ट फर्ममा रहेका फरवार्ड प्याट्रिक शिकले दोस्रो गोल गरे । शिकले ८०औं मिनेटमा गरेको गोलसँगै २-० ले पछि परेको नेदरल्यान्ड्सले खेलमा पुनरागमन गर्न नसक्दा घर फर्कनु परेको हो । सन् २०१४ को विश्वकपपछि पहिलो पटक ठूला प्रतियोगितामा स्थान बनाएको डच टोलीले समूह चरणका तीनै खेलमा जित हासिल गरेको थियो । चेक टोलीले क्वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्क शनिबार भएको प्रि(क्वार्टरफाइनलमा वेल्सलाई ४(० को नतिजामा पराजित गर्दै अन्तिम ८ मा पुगिसकेको छ ।
बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा साविक विजेता पोर्चुगलविरुद्ध १-० गोलको कठिन जित निकाल्दै विश्व नम्बर एक बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ । आइतबार राति भएको खेलमा बेल्जियमका लागि थ्रोगन हाजार्डले ४२औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा थोमस मिनुएरको पासमा हाजार्डले गरेको गोलसँगै बेल्जियमले अग्रता लिएको थियो । दोस्रो हाफमा बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले पुनरागमन गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्यो । जितसँगै क्वार्टरफाइनलमा पुगेको बेल्जियमले ३ जुलाईमा इटालीसँग खेल्ने छ ।