दोश्रो राष्ट्रब्यापी वडा अध्यक्ष कप चेस अर्को साता हुने

मंगलबार, कात्तिक २७, २०८१
Global Ime Bank

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीले एक कार्यक्रमको आयोजना गरि दोश्रो वडा अध्यक्ष कप राष्ट्रब्यापी र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्ने बारे जानकारी गराएका छन् । शशम्भू चौर स्थित सभाहलमा दोश्रो पटक हुन गइरहेको चेस प्रतियोगिता अन्तर्गत नेपालका १०० जना राष्ट्रिय शीर्ष खेलाडीले सहभागी जनाउने बताए । वडा कार्यालयले युवा जनशक्तिलाई सत् मार्गमा दोह्र्याउन बौद्धिक खेल बुद्धिचाल सहित वार्षिक ६ वटा अन्य खेलको आयोजना गरिने जानकारी गराएका छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने अभियानमा वडाले चेस खेलको निम्ति पूर्व योजना तयार गरि कूल ४ लाख रकम विनियोजित गरेको उनले बताए । जस अन्तर्गत पुरस्कार रकम १ लाख ४३ हजार प्रदान गरिने छन् । प्रतिस्पर्धा मार्फत विजयी खेलाडीले आकर्षक ट्रफि, प्रमाणपत्र, मेडल र नगद २५ हजार प्राप्त गर्ने छन् । द्वितीय स्थानमा रहने खेलाडीले मेडल, प्रमाणपत्र र नगद १५ हजार, तृतीय हुनेले मेडफ, प्रमाणपत्र र नगद १० हजार प्राप्त गर्नेछन् । चौथो हुनेले नगद ८ हजार, पाँचौ अनि छैटौंले समान नगद ६ हजार ५ सय र सातौं देखि दशौं सम्म अटाउनेले समान नगद ४ हजार जनही हात पार्ने छन् । यसैगरी उत्कृष्ट महिला तिन जनाले नगद ६ हजार, उत्कृष्ट २ जना नव प्रवेशी, उत्कृष्ट ५५ वर्ष माथिका २ जना भेट्रान, उत्कृष्ट १८ सय रेटेड २ जना , उत्कृष्ट १६ सय रेटेड २ जना, उत्कृष्ट युवा १२, १४, १६, १८ वर्षका दुई दुई जना, उत्कृष्ट ललितपुरका दुई जना र उत्कृष्ट महालक्ष्मी नगरका दुई जना गरि ३३ जना खेलाडीले पुरस्कार पाउने छन्। प्रतियोगिताका निर्देशक वडा सदस्य शशिधर पोखरेलका अनुसार राष्ट्रब्यापी चेस दुई दिनमा सम्पन्न गर्ने छन् । महालक्ष्मी नगरपालिका स्वयं आफैले पनि विभिन्न खेल प्रतिस्पर्धा आयोजना गर्न नगर परिषद्ले वजेट अनुमोदन गरिसकेको जानकारी गराउदै चेस खेलको क्लासिकल विधा समावेश भएको जानकारी गराएका छन् । दोश्रो वडा कप चेस प्रतियोगितावाट स्थानीय विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि छुट्टै पुरस्कार सहित खेलको आयोजना हुने बताए। जसले गर्दा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी महालक्ष्मी नगरपालिकामा जन्म लिओस् । राष्ट्रिय निर्णायक एफए सोराज ताम्राकारले प्रतियोगीता स्वीस लिग अन्तर्गत पहिलो दिन ५ चरणको खेल हुने र दोश्रो दिन ४ चरणको गरि ९ चरणको खेल सञ्चालन गरिने बताए। उनका अनुसार प्रत्येक खेलाडीले १५ मिनेट समय प्राप्त गर्ने छन् भने हरेक चालमा १० सेकेण्ड समय थप पाउने छन् । र्‍यापिड चेस विधा निकै प्रतिस्पर्धात्मक हुने भएको हुदा डिरेक्ट ईन्काउन्टर, बुकोल्ज्स् कट वान, कट टु , मोष्ट वीन र ब्लाक वीन नियम लागु गरिने बताए । विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडेरेशन र नेपाल बुद्धिचाल महासंघले मान्यता प्रदान गरिएको प्रतियोगिताको फिडे इभेण्ट कोड ३९७५९४ रहेको समेत जानकारी गराएका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार