अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लिए फाइजर भ्याक्सिनको पहिलो डोज

मंगलबार, पुस ७, २०७७

वासिङ्टन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको फाइजर र बायोन्टेकको भ्याक्सिन लिएका छन् । सोमबार भ्याक्सिन लिने क्रममा बाइडेनले आफू पनि आम अमेरिकी नागरिक भएको र सोहीअनुरूप फाइजर कम्पनीको भ्याक्सिन लिएको बताए ।
बाइडेनले भ्याक्सिन लिएको केही घन्टापछि उनकी श्रीमती (फस्र्ट लेडी) जिलले पनि भ्याक्सिन लिएकी थिइन् । यी बाइडेन–दम्पतीले भ्याक्सिन डेलेवेयरको नेवार्कस्थित क्रिस्टिना अस्पतालमा लिएका हुन् । ‘म सुरक्षित छु, यस भ्याक्सिनले सबै सुरक्षित रहनेछन्’, भ्याक्सिन लिएपछि बाइडेनले भने । 
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा भ्याक्सिन सुरुवात गरेको र ह्वाइटहाउस यसका लागि बधाईको पात्र भएको बाइडेनले बताएका छन् । ‘ट्रम्प एड्मिनिस्ट्रेसन यसका लागि बधाईको पात्र हो, जसले अमेरिकी नागरिकलाई खुसी दिलाउने काम ग¥यो’, ट्रम्पको प्रशंसा गर्दै बाइडेनले भने, ‘वास्तवमै यो भ्याक्सिनेसन कार्यक्रम सबै अमेरिकीका लागि महत्वपूर्ण थियो ।’ 

फाइजर भ्याक्सिन सुरक्षित
गत साता सम्पन्न इलेक्टोरल मतदानमा समेत विजयी भएका बाइडेनले फाइजर कम्पनीद्वारा उत्पादित भ्याक्सिन प्रभावकारी रहेको विश्वास व्यक्त गरेका छन् । उनले सोमबार स्थानीय तथा अन्तर्राष्ट्रिय मिडियाले लाइभ प्रसारण गरिरहेको कार्यक्रममै भ्याक्सिन लिएका थिए । डेमोक्रयाटिक पार्टीको वरियतामा पहिलो स्थानमा रहेका बाइडेनलाई भ्याक्सिनको पहिलो डोज दिएको र अब केही दिनपछि दोस्रो डोज पनि दिइने जनाइएको छ । भ्याक्सिनको दोस्रो डोजको मिति भने राष्ट्रपतिको मेडिकल टिमले निर्धारण गर्नेछ । आफ्ना नागरिकलाई भ्याक्सिनप्रति विश्वास दिलाउन पनि उनले सुरुमै भ्याक्सिन लगाएका हुन् ।  पहिलो डोज लगाएपछि बाइडेनले वैज्ञानिक तथा मेडिकल टोलीलाई बधाई दिएका थिए । बाइडेनले भने, ‘मलाई विश्वास छ यो भ्याक्सिनले हामी सबैको रक्षा गर्नेछ, भ्याक्सिनप्रति शंका छैन, सबैले विश्वासका साथ भ्याक्सिन लिँदा हुन्छ ।’  बाइडेनले वैज्ञानिक तथा विशेषज्ञप्रति विश्वास राख्न पनि आग्रह गरेका छन् । ‘हामीहरू सबैले भ्याक्सिन बनाउन खटिएका वैज्ञानिक तथा विज्ञप्रति विश्वास राख्नुपर्छ’, उनले भने । 

राष्ट्रपति ट्रम्पले भने भ्याक्सिन लिएनन्
राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरुद्धको खोप लिएका छैनन् । तर, वर्तमान उपराष्ट्रपति माइकल पेन्सले भने श्रीमतीसहित खोप लिएको अमेरिकी एजेन्सीहरूले जनाएका छन् । अमेरिकामा कोरोना भाइरस महामारीका रूपमा फैलिरहँदा राष्ट्रपति ट्रम्पले नै फाइजर भ्याक्सिनबारे खुबै चर्चा गरेका थिए । सबै अमेरिकीले भ्याक्सिन लिए कोरोना भाग्ने उनको भनाइ थियो । भ्याक्सिनबारे धेरै बोल्ने र प्रतिक्रिया दिने उनै राष्ट्रपति ट्रम्पले नै खोप नलिँदा सर्वसाधारण अचम्म मानिरहेका छन् । ह्वाइटहाउसको मिडिया सचिव केली म्याक्केलीले राष्ट्रपति ट्रम्पले भ्याक्सिन नलिएको सम्बन्धमा आपूmलाई केही जानकारी नदिएको बताएकी छन् । गत अक्टोबरमा ट्रम्प कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका थिए । तीन दिन उनको अस्पतालमा उपचार भएको थियो । त्यसवेला उनले भनेका थिए, ‘यति वेला भ्याक्सिन लिने सेड्युल बनाउनेछु ।’ १३ डिसेम्बरमा ट्रम्पले भ्याक्सिन निर्माताहरूलाई बधाई दिएका थिए । ‘मलाई आशा छ, यो भ्याक्सिनले कोरोना भाइरसलाई हराउनेछ’, उनले भनेका थिए । 

पूर्वराष्ट्रपतिहरू भ्याक्सिन लिन तयार
अमेरिकाका पूर्वराष्ट्रपतिहरूले केही महिनाअघि भनेका थिए, ‘यदि अमेरिकामा भ्याक्सिनको खोप तयार भयो भने हामी त्यो लिन तयार छौँ ।’ बाइडेनले सोमबार भ्याक्सिन लिएपछि पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन, बराक ओबामा तथा जर्जडब्लु बुसले पुनः एकपटक भ्याक्सिन लिन तयारी अवस्थामा रहेको जनाएका छन् ।  नवनिर्वाचित उपराष्ट्रपति कमल ह्यारिस र उनका श्रीमानले भने अर्काे साता भ्याक्सिन लिनेछन् । जनवरी महिनामा बाइडेन ह्वाइटहाउसमा प्रवेश गरेपछि उनको टोलीले पहिलो सय दिनमा १० करोड अमेरिकी नागरिकलाई खोप दिलाउने योजना बनाएको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट तीन लाख २६ हजारभन्दा बढीको निधन भइसकेको छ । यस्तै एक करोड ८० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

कसरी हुँदै छ भ्याक्सिनेसन 
नवनिर्वाचित राष्ट्रपति बाइडेनले भ्याक्सिनको पहिलो खोप लिएपछि आधिकारिक रूपमा अमेरिकामा कार्यक्रम अघि बढेको छ । भ्याक्सिनेसनको जिम्मा रोग नियन्त्रण तथा रोकथाम विभागले लिएको छ । विभागले तीन चरणमा अमेरिकामा भ्याक्सिन वितरण गर्ने जनाएको छ ।
पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सकहरूले भ्याक्सिन पाउनेछन् । अमेरिकामा दुई करोडभन्दा बढी व्यक्ति स्वास्थ्य सेवासँग सम्बन्धित पेसामा आबद्ध छन् । त्यसपछि ७५ वर्षमाथिका वृद्धवृद्धाहरूले भ्याक्सिन पाउनेछन् । यसैगरी ७५ वर्षमुनिका व्यक्तिले तेस्रो चरणमा भ्याक्सिन पाउने विभागको भनाइ छ ।–एजेन्सी 
 

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार