गण्डकीमा नेकपा एमालेको सरकार ढल्यो 

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएनन, विपक्षी गठबन्धन सरकार बनाउने कसरतमा 
बिहीबार, जेठ २७, २०७८

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको विश्वास गुमाएका छन् । प्रदेशसभामा आज उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए  । सभामा निर्णायार्थ पेश गर्दा पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे  । गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पथ्र्थाे । बैठकमा ५८ प्रदेशसभा सदस्य उपस्थित भएकोमा मतदान प्रक्रियामा ५७ जना सहभागी भएका थिए । एक जना तटस्थ बसे । मनाङ, प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ मतदानमा अनुपस्थित रहे । 
गत वैशाख २७ गते संसद्मा सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गुरुङले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानानुरुप आफूलाई सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री गुरुङलाई एमालेका २७ सांसदले मत दिएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११ (सभामुख बाहेक) तथा जनता समाजवादी पार्टी नेपाल र  राष्ट्रिय जनमोर्चाका दुई–दुई सदस्यले विश्वासको मतका विपक्षमा मतदान गरे । जनमोर्चाका सदस्य कृष्ण थापा भने तटस्थ बसे । मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएपछि अब संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ ।
संविधानको सो धारामा विश्वासको मत पाउन सक्ने दावी पेश गरेका प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । प्रदेशसभाका कुनै पनि सदस्यले बहुमत जुटाउन नसके संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको मिति घोषणा हुने संवैधानिक व्यवस्था छ । 
गुरुङ विसं २०७४ फागुनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री निर्वाचित भएका थिए । गुरुङलाई एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट मानिन्छ । माओवादी सरकारबाट अलग भएपछि तथा राष्ट्रिय जनमोर्चाले उनलाई दिएको समर्थन फिर्ता लिएपछि गुरुङले वैशाख अन्तिम सातामा पदबाट राजीनामा दिएका थिए । तर लगत्तै उनी प्रदेशसभामा भएको ठूलो दलको नेताको हैसियमा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । 

पहिला के भएको थियो ?
सरकारबाट गत चैत २५ गते माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारको स्थायित्वमाथि प्रश्न उठ्न सुरु भएको थियो । त्यसपछि गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव ल्याएका थिए । विपक्षी दलहरूले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई भावी मुख्यमन्त्रीमा प्रस्तावित गरेका थिए । तर अविश्वासको प्रस्तावबारे निर्णय गर्न तय भएको प्रदेशसभा बैठक एक सांसद सम्पर्कविहीन भएको निवेदन परेपछि स्थगित भएको थियो ।

आज के भने मुख्मन्त्री गुरुङले ?
जनमोर्चाले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिबारे टिप्पणी गर्दै आफूले विश्वासको मत लिन चाहेको बताए । ‘अस्थिरताका बीच मैले दलहरूका बीच पुनः संवाद होस्, विकल्प पनि तयार होस भनेर मिति २०७८–०१–२६ गते राजीनामा गरेको थिएँ । तर दलहरूका बीच संख्यात्मक जोड नपुग्दा अहिले ठूलो दलको रूपमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार सञ्चालन गरेर धारा १६८ को उपधारा (४) अन्तर्गत विश्वासको मतका लागि उपस्थित भएको छु’ उनले भने, ‘विश्वास प्राप्त हुँदा नीति तथा कार्यक्रम पेस गरी गण्डकी प्रदेशसभामा बजेट प्रस्तुत हुने नै छ । अन्यथा संविधानको व्यवस्थाअनुसार अघि बढनुपर्ने व्यहोरा अनुरोध गर्न चाहन्छु ।’
अधुरा विकासका काम छोडेर ‘राजनीतिक दाउपेचमा अल्झिनु र राजनीतिक अस्थिरता पैदा गर्नु न्यासंगत’ नहुने तर्क गर्दै उनले भने, ‘मैले नेतृत्व गरेको नेकपा एमालेबाहेक अन्य दलहरूको प्रदेशसभामा बहुमत पुग्ने र वैकल्पिक सरकार गठन हुने सम्भावना पनि छैन ।’
‘यो तथ्य एक महिना अगाडि परीक्षण भएकै हो । हामीले राज्यको पुनर्संरचना गरेपछि गठित प्रदेशसभा संविधानको कार्यान्वयन र संघीयताको सुदृढीकरणका लागि अगुवा साबित हुने विश्वास लिएको छु’ उनले भने ।

बहुमत पु¥याएर मुख्यमन्त्रीमा दाबी पेश गर्छाै  : विपक्षी गठबन्धन 
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका छन् । अब संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले आह्वान गर्नेछन् । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले भने, ‘बहुमत सांसदसहित हामी जान्छौं ।’
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनतिर आएका छन् । उनले साथ दिएमा मुख्यमन्त्री नियुक्त हुन चाहिने ३१ मत पुग्छ । बिहीबार मतदान प्रक्रियामा भाग नलिएका प्रदेशसभा सदस्य कृष्ण थापालाई पनि मत दिन आग्रह गरिने कांग्रेस संसदीय दलका नेता पोखरेलले बताए । 
उनले भने, ‘कृष्ण थापालाई अनुरोध गरेका हौं, तर कोही कसैलाई फकाउन सकिंदैन ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार