विश्वकप छनोट : जोर्डनसँग नेपाल ३-० ले पराजित

मंगलबार, जेठ २५, २०७८

काठमाडौँ । एसियाली विश्वकप छनोटको समूह ‘बी’ मा नेपाल जोर्डनसँग ३–० ले पराजित भएको छ । कुवेत सिटीको जबर अल–अहमद इन्टरनेसनल स्टेडियममा भएको खेलको यो नतिजाले एसियाकप छनोट तेस्रो चरणमा प्रवेशका लागि गाह्रो भएको छ । यो नतिजापछि नेपाल ६ अंकमै सीमित रहेर समूहको चौथो स्थानमा रह्यो । चिनियाँ ताइपेई भने शून्य अंकमा अन्तिम स्थानमा छ । छनोटमा कुल आठ समूह रहेका छन्त्य । सको चौथो स्थानमा रहने उत्कृष्ट चार टिमले एसिया कप छनोटको तेस्रो चरण खेल्नेछ । चौथो स्थानको अन्तिम चार रहने टिमले प्लेअफ खेल्नेछ । जोर्डनका लागि फैसलले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । रोहित चन्दले मुसा अहमदलाई लडाएपछि जोर्डनले पेनाल्टी प्रहारको अवसर पाएको थियो । फैसलको पेनाल्टी प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूले सही अनुमान लगाए पनि त्यो प्रहार निकै शक्तिशाली रहेको थियो । फैसलले ४९ औं मिनेटमा फ्रिकिकबाट दोस्रो गोल गरे । लगभग ३० यार्डबाट फैसलले गरेको शक्तिशाली प्रहार नेपालले तेर्साएको मानवीय पर्खाल र गोलरक्षक लिम्बूलाई ‘बिट’ गरेर गोलमा परिणत भएको थियो । खेलको ६७ औं मिनेटमा यजान अब्दुल्लाहको क्रसमा यजान अलअरबले हेडबाट तेस्रो गोल थपे । नेपाली गोलरक्षक तथा कप्तान किरणले खेलका क्रममा केही उत्कृष्ट बचाउ गरे । नेपालले भने पूरा खेल अवधिमा जोर्डनविरुद्ध सटिक आक्रमण गर्न सकेन । नेपालको तुलनामा जोर्डनका खेलाडी शारीरिक रूपमा बलियो र अग्ला थिए ।  कुवेतको गर्मीमा नेपाली खेलाडीलाई खेल्न गाह्रो भएको पनि देखिएको थियो । खेलका क्रममा मैदानको तापक्रम ४१ डिग्री सेल्सियस रहेको थियो । त्यसैले प्रत्येक हाफमा ‘कुलिङ–ब्रेक’ को आवश्यकतासमेत परेको थियो । जोर्डनविरुद्ध नेपालले खेलेका चार खेलमा यो तेस्रो हार हो । यसपल्टको छनोटको पहिलो लेगमा नेपाल जोर्डनसँग ३–० ले नै पराजित रहेको थियो । नेपालले नयाँ प्रशिक्षक मोहम्मद अलमुताइरीको नेतृत्वमा खेलेको तेस्रो खेल रह्यो । अब नेपालले शुक्रबार समूहको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाको सामना गर्नेछ । त्यस खेलसँगै नेपालको विश्वकप २०२२ को छनोट यात्रा टुंगिनेछ । नेपालले अब एसियाकप छनोट तेस्रो चरण अथवा एसियाकप छनोट प्लेअफ खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार