सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान सम्पन्न भएको दुई दिन बितिसकेको छ तर अझै पनि यो प्रक्रियाले विजेताको टुङगो लगाइसकेको छैन । एक करोड ६० लाखभन्दा बढी अमेरिकीहरूको मत गन्ने कार्य जारी रहँदा धमिलो चित्र केही स्पष्ट हुन लागेको हो कि जस्तो देखिँदैछ । मिशिगन र विस्कन्सिनमा बाइडनको जित हुने प्रक्षेपण गरिएपछि अब अग्रताको लागि देशव्यापी दौड एरिजोना, नेभाडा, जोर्जिआ र पेन्सिल्भेनियामा आएर केन्द्रित भएको छ । बाइडनको पक्षमा २५३ इलेक्टरल कलेज मत देखिएको छ भने ट्रम्पको पक्षमा २१४ छ । पछिल्लो अवस्थालाई विचार गरेर सोझै भन्नुपर्दा बाइडनले अहिले एरिजोना र नेभाडामा जुन अग्रता पाएका छन् त्यसलाई कायमै राखे पुग्छ । त्यसो हुन सकेमा उनले २७० इलेक्टरल मत पु¥याँउन सक्छन् जुन ह्वाइट हाउसमा पुग्ने जित हासिल गर्न आवश्यक न्यूनतम मत सङख्या हो । बाइडनले एरिजोनामा आफ्नो अग्रतालाई टिकाएर राखेका छन् र त्यहाँ अझै हुलाकबाट पठाइएका केही मतपत्रहरूको गणना हुन बाँकी नै छ । नेभाडामा दुई उम्मेदवार बीचको मतको अन्तर केही हजार मतको मात्रै छ ।
त्यहाँ मतदाता प्रत्यक्ष उपस्थित भएर दिएका मतको सम्पूर्ण गणना सकिएको छ जुन रिपब्लिकनतर्फ ढल्किएको देखिन्छ तर हुलाकबाट प्राप्त मतपत्रहरू गन्न बाँकी छ जुन डेमोक्र्याटको पक्षमा जान सक्ने देखिन्छ । यसरी हेर्दा राष्ट्रपति पद तर्फको यात्रामा बाइडनको अगाडि रहेका अवरोध केही थोरै देखिन्छ । बाइडनको लागि जस्तै ट्रम्पले पनि उनले हाल अग्रता लिइरहेका बाँकीका महत्वपूर्ण राज्यहरूमा त्यसलाई कायमै राख्नु पर्छ । त्यो भनेको पेन्सिल्भेनिया र जोर्जिआ हो । त्योसँगै रिपब्लिकनहरूले माथि बाइडनको सन्दर्भमा उल्लेख गरिएका कम्तीमा एउटा राज्यमा उनको अग्रतालाई परास्त गर्न सक्नुपर्छ । नेभाडामा प्रतिस्पर्धा एकदम निकटको देखिन्छ । उक्त राज्यको नतिजा ट्रम्पको पक्षमा जान ठूलो उथलपुथलको आवश्यकता नपर्न पनि सक्छ । यदि त्यहाँ निर्वाचनको दिनको छाप लागेको तर ढिलो गरी हुलाकबाट प्राप्त मतपत्रहरू हाल अनुमान भैरहेको जस्तो डेमोक्र्याटहरूको साटो रिपब्लिकन वा ट्रम्प समर्थक स्वतन्त्र उम्मेदवारहरूको पक्षमा परेको देखिएमा राष्ट्रपति को बन्ला भन्ने परिदृश्य एकदमै उज्यालो बन्न सक्छ । एरिजोनामा पनि ट्रम्पको पक्षमा जित हुन सक्ने सम्भावना रहेको देखिन्छ । नेभाडामा जस्तै त्यहाँ पनि हुलाकबाट आएका मतपत्रहरूको सूचीकरण गर्न बाँकी छ । नेभाडाको दाँजोमा एरिजोना बाइडनको अग्रता ठूलो छ तर त्यहाँ ठूलै उथलपुथल नहोला भन्न सकिन्न । अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । जसमा डेमोक्रयाट उम्मेदवार जो बाइडनले २५३ इलेक्टलर मत प्राप्त गरेका छन् भने डोनल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ । ट्रम्पले मतगणना रोक्न माग गर्दै चारवटा राज्यमा मुद्दा दायर गरेका छन् । निर्वाचनमा धाँधली भएको आरोप दोहा¥याई रहेका भएपनि उनले कुनै प्रमाण दिएका छैनन् । एरिजोना, जोर्जिआ, नेभाडा र पेन्सिल्भेनिया राज्यमा मतगणना भइरहेको छ । एरिजोना र नेभाडामा बाइडनको झीनो अग्रता छ । अदालत वा संसदीय कुन प्रक्रियाबाट नयाँ राष्ट्रपति चयन ? चुनावमा धाँधलीको आरोप, मतगणनाको विषयमा कानुनी चुनौती र सामान्य अवस्थाभन्दा विजेता चयनमा देखिएको ढिलाइले गर्दा अमेरिकी राष्ट्रपतीय निर्वाचनका विविध पक्षलाई लिएर विभिन्न अनुमान तथा सम्भावनाहरूका बारेमा चर्कै चर्चा परिचर्चा भइरहेको छ । यसमा कानुनी प्रक्रिया र अदालतको भूमिकाका बारेमा पनि चर्चा सुरु भएको छ । अमेरिकामा निर्वाचनमा मतगणना परिणामसँग चित्त नबुझी कानुनी चुनौती दिन परेमा सम्बन्धित पक्षका वकिलहरूको टोलीले मतपरिणामलाई राज्य तहका अदालतहरूमा मुद्दा दायर गर्नु पर्छ । त्यसपछि राज्यका न्यायाधीशहरू मुद्दाको मागदाबीमा सहमत भएभने तिनीहरूले पुनः मतगणनाको आदेश दिन सक्छन् । राष्ट्रपतीय निर्वाचन भएका कारणले गर्दा यो निर्वाचनले पालना गर्नै पर्ने महत्वपूर्ण संघीय तथा संवैधानिक प्रावधान र समयसीमाहरू रहेका छन् । सोहीअनुसार प्रक्रिया अघि बढ्छ् । मतदान भएको ३ नोभेम्बरको दिनदेखि पाँच हप्ताभित्र राज्यहरूले आफू कहाँ कुन उम्मेदवार विजयी भएको हो भनेर निक्र्याैल गरी इलेक्टर अर्थात निर्वाचन मण्डलका सदस्य निर्धारण गर्नुपर्छ । ‘सेफ हार्बर डेडलाइन’ भनिने यो समयसीमा यो वर्ष ८ डिसेम्बर हो । उक्त मितिसम्म राज्यले विजेता निर्धारण गरेनन् भने संसद्ले ती राज्यका इलेक्टरल कलेज सदस्यहरूले दिने मत मान्य नहुने घोषणा गर्नसक्छ । १४ डिसेम्बरका दिन इलेक्टरहरूले आआफ्ना राज्यमा भेला भएर राष्ट्रपति छान्न मत दिन्छन् । ६ जनवरीसम्ममा पनि बहुमतप्राप्त विजेता चयन हुन सकेन भने संसद्ले नै एक विशेष प्रावधानअनुसार गएर राष्ट्रपतीय निवार्चनको नतिजा निर्धारण गर्छ । कंग्रेस भनिने संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति छान्छ भने माथिल्लो सदन सिनेटले उपराष्ट्रपति चयन गर्छ । यसो भएमा राष्ट्रपति र उपराष्ट्रपति दुई अलगअलग पार्टीका मानिसहरू पनि हुनसक्छन् । तल्लो सदनमा प्रत्येक राज्यका प्रतिनिधि मण्डलसँग एक मत रहन्छ र २६ मत प्राप्त गर्ने उम्मेदवार नै नयाँ अमेरिकी राष्ट्रपति बन्छ । तर विज्ञहरू भन्छन, ‘हाउस र सिनेटले नै राष्ट्रपति छान्न पर्ने अवस्था आउनका लागि त्योभन्दा अघि अवस्था एकदमै बेथितिको हुनुपर्छ ।पुनः मतगणना कतिपय स्थानमा दुई उम्मेदवारबीच प्राप्त मतान्तर एकदमै थोरै रहेको पाइएमा स्वतः नै पुनः मतगणनाको प्रावधान सक्रिय हुन्छ । सन् २००० को राष्ट्रपतीय निर्वाचनमा जर्ज डब्लु बुश र एल गोरका सम्बन्धमा फ्लोरिडामा भएको मतगणनाका समयमा यस्तै भएको थियो । हालसम्म सन् २००० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमात्रै सर्वाेच्च अदालतको फैसलाबाट अन्तिम परिणाम घोषित भएको निर्वाचन हो । त्यसबेला डेमोक्र्याट एल गोर र रिपब्लिकन जर्ज डब्लु बुशबीच निकै चर्का प्रतिस्पर्धा थियो । मतदानको दिनमा एल गोरले प्रत्यक्ष मतदानमा खसेका सबैभन्दा बढी मत प्राप्त गरेका थिए तर इलेक्टरल कलेज मतमा भने प्रतिस्पर्धा निकै नजिकको थियो । सबै कुरा फ्लोरिडामा हुने मतदात र त्यहाँको २५ इलेक्टरल कलेज मतमा निर्भर थियो । त्यहाँको पुनः मतगणना भयो र त्यसलाई सर्वाेच्च अदालतमा कानुनी चुनौती दिइयो । मुद्दा परेको हप्तौँपछि सर्वाेच्च अदालतले न्यायाधीशहरूको बहुमतको आधारमा फैसला सुनायो रिपब्लिकन उम्मेदवार जर्ज बुशको पक्षमा । सर्वाेच्च अदालतको फैसला पार्टी लाइन अनुसार भएको न्यायाधीश नियुक्ति अनुसार नै ५–४ को अन्तरले रिपब्लिकन उम्मेदवारको पक्षमा आएको थियो । डेमोक्रयाट एल गोरले पराजय स्वीकारे र बुश ह्वाइट हाउसमा सरे ।
अन्तिम समयरेखा परिस्थिति जस्तोसुकै भएपनि जनवरी महिनाको २० तारिखका दिनमा देशमा नयाँ राष्ट्रपतीय कार्यकाल आरम्भ हुनैपर्ने अमेरिकी संवैधानिक प्रावधान छ । बाइपार्टीजन पोलिसि रिसर्च सेन्टर नामक संस्थाको निर्वाचन परियोजनाका निर्देशक म्याथ्यू वील भन्छन्, ‘जनवरी २० को मध्याह्नमा कसै न कसैले राष्ट्रपति पदको शपथग्रहण गर्नै पर्छ ।’ स्पष्ट निर्वाचन परिणाम हासिल नभएको अवस्थामा उत्तराधिकारसम्बन्धी कानुनअनुसार अघि बढ्नु पर्छ । वीलका अनुसार परिस्थिति यस्तो पनि हुन सक्छ कि भावी राष्ट्रपतिको बारेमा निर्णय गर्दा त्यस्तो प्रक्रिया अघि बढाउने संसद्को तल्लो सदन पनि अनिर्णित हुन सक्छ । तर माथिल्लो सदन सिनेटले उपराष्ट्रपतिको चयनलाई अनुमोदन गर्न सक्छ । शपथग्रहणको दिनसम्म पनि राष्ट्रपतिको टुङगो लगाउन नसकिए सिनेटले अनुमोदन गरेको उपराष्ट्रपति नै नयाँ राष्ट्रपति बन्छन् । उपराष्ट्रपति पनि चयन भएका छैनन भने त्यस्तो अवस्थामा अमेरिकी संसद्को तल्लो सदनको सभामुखलाई राष्ट्रपति बनाइन्छ । मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन् । ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई संयमितु हुन आह्वान गरे । ‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उनले भने, ‘तर प्रक्रियाले काम गरिरहेको छ ।’ प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन् ।’
हस्तक्षेप मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई कुनै शङका नरहेको पनि बाइडनले बताए । त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली गरिएको आरोप फेरि लगाए । मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन् । ट्रम्पले भने, ‘यदि तपाई वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु ।’ हुलाकमार्फत गरिएको मतदान ‘एकतर्फी’ भएको दाबी पनि उनले गरेका छन् । मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए । यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए । राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर पूर्ण युद्धमा जानू आफ्ना बुवालाई आग्रह गरेका छन् । उनको त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ । जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन् । निकै महत्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ ।