रातो मच्छिन्द्रनाथको जात्रा

नरिवल खसाल्ने दिन ललितपुर महानगरमा बिदा

शनिबार, वैशाख २२, २०८१

ललितपुर । ललितपुर महानगरले रातो मच्छिन्द्रनाथको जात्राको क्रममा लगनखेलमा नरिवल खसाल्ने दिन सार्वजनिक विदा दिने भएको छ ।  ललितपुर महानगरको ५२ औं कार्यपालिका बैठकले उक्त दिन महानगर पालिका र पालिका अन्तर्गतका कार्यालयमा विदा दिने निर्णय गरेको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले रथ तान्न सुरु भएपछि  नरिवल खसाल्ने दिन टुंगो लाग्ने बताए । उनले भने, ‘ यो दिन अहिले नै भन्न सकिँदैन, रथ तान्न सुरु भएपछि थाहा हुन्छ । ’ विदाका बारेमा सूचना निकालेर नागरिकलाई जानकारी दिने उनले बताए । मच्छिन्द्रनाथको रथयात्रा वैशाख २९ बाट तान्न सुरु हुनेछ। 
रातो मच्छिन्द्रनाथ वर्षा र सहकालका देवता हुन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वरलगायतका नामले रातो मच्छिन्द्रनाथ प्रख्यात छन् । लिच्छविकालमा देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथ प्रवेश भएपछि पानी परेको किम्वदन्ती छ । प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहि आएको छ । पुल्चोकबाट रथयात्रा शुरु भएपछि गावहाल, सुन्धारा, लगनखेल र जावलाखेलमा लगेर भोटो देखाइ जात्रा समापन गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ । रथ लगनखेलमा पुगेपछि नरिवल खसाल्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार