सोसल मिडिया
Contact Us
युनिकोड
२ देखि ८ डिग्रीको खोप भण्डारण क्षमता १ लाख ९५ हजार लिटर, माइनस २० डिग्रीको १५ हजार लिटर र माइनस ७० को शून्य
काठमाडौं । कोभाक्समार्फत सहयोगमा प्राप्त हुने पहिलो चरणको कोरोनाविरुद्धको खोप भण्डारण गर्ने चिस्यानयुक्त ठाउँसमेत अपुग हुने देखिएको छ । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न केन्द्र र प्रदेशमा चिस्यानयुक्त भण्डार रहे पनि नियमित खोप राखिएकाले कोभिड खोप राख्न ठाउँको अभाव हुने भएको हो । काठमाडौंमा रहेको चिस्यानयुक्त केन्द्रीय भण्डारणमा समेत नियमित खोप राख्ने ठाउँ मात्रै छ । अहिलेको संरचनाअनुसार चिस्यानसहितको भण्डारणस्थलको समस्या सबैभन्दा बढी वाग्मती र प्रदेश २ मा पर्ने देखिएको छ । चिस्यान भण्डार बढाउन स्वास्थ्य सेवा विभागले गत वर्ष कात्तिकमा टेकुस्थित विभाग परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन टेन्डर गरे पनि अझै निर्माण सुरु भएको छैन । प्रदेश २ र वाग्मतीमा खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी०) ले उपलब्ध गराउने ३ प्रतिशत खोप राख्ने ठाउँ पनि छैन । वाग्मती प्रदेशका मकवानपुर, सिन्धुली र चितवनमा आवश्यक खोप हेटौंडाबाट वितरण गरिन्छ । वाग्मतीका अन्य जिल्लाका लागि भने काठमाडौंमा ५ हजार २ सय लिटरको भण्डारण क्षमता छ । यो ठाउँ त नियमित भ्याक्सिनलाई मात्रै पुग्छ । सुविधामा आउने ३ प्रतिशत भ्याक्सिनलाई साढे १० हजार लिटर अट्ने ठाउँ आवश्यक पर्ने स्वास्थ्य विभागले आकलन छ । प्रदेश २ मा एउटा पनि चिस्यानयुक्त भण्डार छैन । वाग्मती प्रदेशको हेटौंडामा रहेको दुई हजार दुई सय लिटर भण्डारण क्षमतामा प्रदेश २ निर्भर हुनुपर्ने बाध्यता छ । कोभिड खोप राख्ने क्षमता अभाव पूरा गर्न खोपसँगै २० हजार लिटर भण्डारण गर्ने ठाउँसमेत बनाइदिन सरकारले गाभीलाई आग्रह गरेको छ । विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले प्रदेश २ र कर्णालीमा खोप राख्ने चिस्यानयुक्त भण्डार बनाउने योजना बनाइसकेको बताए । कर्णाली र लुम्बिनी प्रदेशको नेपालगन्जमा ९ हजार ७ सय लिटर क्षमताको भण्डारणमा भर पर्नुपर्ने बाध्यता छ । विभागले गाभीलाई खोपसँगै काठमाडौंमा चिस्यानयुक्त भण्डारसमेत बनाइदिन आग्रहसहितको पत्राचार गरेको छ । यता, सरकारको लगानीमा बनाउने भनिएको भण्डारण स्थलको ठेक्का लागेको ५ महिनासम्म जगसमेत खनिएको छैन । कात्तिकमा टेन्डर सूचना निकालेर माघमा ठेकेदार छनोट गरिएको थियो । उक्त भवन कौशिल बस्नेत र कुँवर जेभीले ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का पाएका छन् । असार १ बाट काम गर्ने गरी ठेक्का सम्झौता भएको हो । सम्झौता भएको ६ महिना हुँदा पनि भवनको जग हालिएको छैन । भित्तामा पर्खाल लगाउनेबाहेक अरू काम भएको छैन । भवन बनाउने ठाउँमा जस्ताले बारबेर गरिएको छ । ‘गत माघमै मैले ठेक्का पाए पनि बजेट छैन भनेर असारमा मात्रै सम्झौता भएको हो । त्यसयता पनि काम सुरु गर्दा जमिनमा कालोमाटोको दलदल भएकाले माटो परीक्षण गरेर रिपोर्ट दिन भन्दा पनि नदिएपछि काम अघि नबढेको हो । विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेशकुमार खरेलले निर्माण काम सुरु भइसकेको बताए ।
चिस्यान क्षमता कति ? विभागको खोप शाखाका अनुसार मुलुकभर २ देखि ८ डिग्रीको खोप १ लाख ९५ हजार लिटर भण्डारण गर्ने क्षमता छ । यसमध्ये टेकुमा ४५ हजार ५ सय लिटर क्षमताको छ । माइनस २० को खोपका लागि देशभरको क्षमता १५ हजार लिटर मात्रै छ । ‘अहिले भएको जति क्षमता छ, नियमित खोपका लागि हो । २ देखि ८ डिग्रीको खोप ल्याउँदा अरू खोपलाई केही समय रोक्नुपर्ने हुन्छ । काठमाडौंमा भण्डारणमा रहेको नियमित खोप केही समय प्रदेश पठाएर भए पनि व्यवस्थापन गर्न सकिन्छ । मुलुकभरको चिस्यान भण्डारणको अवस्था र आवश्यकताको विश्लेषण गरी अभाव हुने क्षमताको पत्ता लगाइरहेको स्वास्थ्य अधिकारी बताउँछन् । २ देखि ८ डिग्रीको भ्याक्सिन राख्ने संरचना आजै आए पनि समस्या पर्दैन । माइनस २० को पनि सीमित छ । सरकारी संरचना मात्रै नभई निजी क्षेत्रमा पनि कति राख्न सकिन्छ भनेर तथ्यांक लिइरहेका छौं । माइनस २० को भण्डारण पोलियो खोप राख्न बनाइएको हो । माइनस २० को चाहिँ अहिले भएको संरचना नियमित गर्नका लागि हो । आवश्यक परे यसलाई विस्तार गर्न सकिन्छ । विभागका अनुसार चिस्यानयुक्त भण्डारण प्रदेश १ को विराटनगरमा ९ हजार ७ सय लिटर क्षमताको छ । यसमध्ये ७ हजार १ सय लिटर नियमित खोपले ओगटेको छ । २ हजार ६ सय मात्रै थप राख्न सकिन्छ । एन्टी–रेबिजको भ्याक्सिन पनि यही भण्डारमा राख्नुपर्ने भएकाले क्षमता कम हुने विभागले जनाएको छ । सुविधामा आउने पहिलो चरणको ३ प्रतिशत भ्याक्सिन राख्न त समस्या पर्दैन । दोस्रो चरणमा आउने १७ प्रतिशतका लागि उपकरण थप गर्नुपर्ने हुन्छ । दोस्रो चरणको १७ प्रतिशत जनतालाई पुग्ने खोप आउँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भण्डारण क्षमता रहेको विभागको दाबी छ । केन्द्र, प्रदेश १, २ र वाग्मतीमा भने भण्डारण क्षमता बढाउनुपर्ने हुन्छ । कर्णालीमा आफ्नै चिस्यानयुक्त भण्डार छैन तर विगतदेखि नेपालगन्जबाट सप्लाई गरिन्छ । नेपालगन्जमा ७ हजार ५ सय लिटर क्षमता भण्डारण छ । प्रदेश २ मा भण्डारण स्थान नै छैन । सिरहा र सप्तरीमा विराटनगर भण्डारबाट खोप सप्लाई हुन्छ भने अरू ६ वटा जिल्ला हेटौंडाले हेरिरहेको छ । हेटौंडामा २ हजार २ सय ५० लिटर भण्डारण क्षमताको चिस्यान छ । गण्डकी प्रदेशमा ९ हजार ७ सय भण्डारण क्षमता छ । लुम्बिनी प्रदेशको बुटबलमा ११ हजार २ सय लिटर खोप भण्डारण क्षमता छ । बुटबलमा ६ हजार लिटर नियमित नै राखिन्छ । ५ हजार २ सय लिटर मात्रै ठाउँ बाँकी छ । भ्याक्सिनको साइज ठूलो भयो भने दोस्रो चरणमा आउने खोप भण्डारणमा समस्या पर्न सक्छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा ९ हजार ७ सय लिटरको भण्डारण क्षमता रहेको छ । यसमध्ये ५ हजार २ सय नियमित खोपले ओगट्छ । ४ हजार ५ लिटर क्षमताले १७ प्रतिशत खोप आउँदा पनि भण्डारण गर्न समस्या पर्दैन । पहिलो चरणमा आउने कुल जनसंख्याको ३ प्रतिशतलाई पुग्ने खोप आउने सरकारले आकलन गरेको छ । पहिलो चरणमा आउने खोप स्वास्थ्यकर्मीलाई लगाउने सरकारको योजना छ । दोस्रो चरणमा ५१ लाख ६४ हजार जनसंख्यालाई पुग्ने सहयोगको खोप आउँदैछ । जुन खोप ५५ वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी र प्रवासी कामदारहरू (दीर्घरोगी) लाई लगाइने सरकारको योजना बनाएको छ । तेस्रो चरणमा ४० देखि ५४ का बाँकी र १५ देखि ३९ वर्ष उमेर समूहका ५२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । १५ देखि ३९ वर्ष उमेर समूहका कुल जनसंख्याको ४२।०७ प्रतिशत अर्थात एक करोड २७ लाख ८० हजार जनसंख्या रहेको सरकारले आकलन गरेको छ । उनीहरूका लागि मात्रै २ करोड २८ लाख ४३ हजार खोपको मात्रा आवश्यक पर्ने सरकारले योजना बनाएको छ । ४२ प्रतिशत जनतालाई आवश्यक पर्ने खोप एकै पटक ल्याएर भण्डारण गर्ने क्षमता हामीसँग छैन ।