प्रभावकारी बन्दै लागूऔषधविरूद्ध लालटिन अभियान

बुधबार, वैशाख १९, २०८१

काठमाडौं । जुम्लाका १८ वर्षीय किशोरलाई स्कुल जान पटक्कै मन लाग्ने थिएन । साथीहरूसँग बरालिएर लागूऔषध सेवन गरी घर फर्किँदा उनलाई हीनता बोध हुन थालेको थियो । परिवारका अगाडि निराश देखिन्थे । बोल्न र घुलमिल हुन मन पराउँदैनथे । पढाइ पनि बिग्रदै गएको थियो ।  उनको यो अवस्था देखेर घर परिवार चिन्तित भए । उनीहरूको आग्रहमा किशोर लालटिन समूहको सम्पर्कमा आए । अहिले उनी खुसी छन् । घर र स्कुलमा रमाउन थालेका छन् । पढाइ पनि राम्रो हुँदै गइरहेको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुुरू गरेको ‘कर्णालीमा लागूऔषधविरूद्ध लालटिन अभियान’ अन्तर्गत गठित लालटिन समन्वय डेस्कको सम्पर्कमा आएपछि ती किशोर लागूऔषध दुव्र्यसनबाट मुक्त भएका हुन् । अहिले उनी जस्ता धेरै युवा अभियानअन्तर्गत संचालित कार्यक्रमको प्रभावले दुव्र्यसनमुक्त भएका छन् । 
सो क्षेत्रमा लागूऔषधको अवैध कारोबार पनि घटेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विशेष अभियान–२०८० अन्तर्गत लालटिन अभियान सञ्चालन गरिरहेको छ । लागू पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनविरूद्ध प्रहरी परिचालन गरी कानुनी दायरामा ल्याउने लगायतका उद्देश्यले गत असोज २५ गतेदेखि अभियान सञ्चालन गरेको हो । 
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी भीमप्रसाद ढकाल भन्छन्, ‘तत्कालिन अवस्थामा म आफै प्रदेश प्रहरी कार्यालय कर्णालीको प्रमुख थिएँ । दुव्र्यसनमा फसेका युवाहरू जोगाउन र लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । अभियान कर्णालीका १० जिल्लामा एकैपटक शुरू गरिएको थियो । प्रहरीको सक्रियताले सबै जिल्लाका गाउँ गाउँसम्म अभियान पुग्न सफल भएको छ । अहिले समीक्षा गर्दा लागूऔषध कारोबार र प्रयोग घट्दो अवस्थामा रहेको पाइएको छ । यस अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजानु आवश्यक छ ।’
अभियानअन्तर्गत विभिन्न लालटिन समूह गठन गरी काम भइरहेको ढकालको भनाइ छ ।  ७ महिनाको अवधिमा १ हजार २ सय वटा लालटिन समूह गठन भएका छन् । तीमध्ये जिल्ला लालटिन समन्वय डेस्क ९, नगरपालिकास्तरीय लालटिन समूह २२, गाउँपालिकास्तरीय समूह ४३, वडास्तरीय समूह ५ सय ४१, गाउँ र टोल समूह २ सय ५६ वटा, कलेज समूह १४ र विद्यालय समूह ३ सय १५ वटा पुगेका छन् ।  लागूऔषध दुव्र्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गरी अभियान सञ्चालन गर्ने गरिएको छ । बढी प्रभाव परेका क्षेत्र र वर्ग लक्षित नियन्त्रणका उपायहरू अवलम्बन गरी सक्रिय रूपमा काम गर्ने गरिएको छ । 
समुदायसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी वीरबहादुर ओलीले बताए ।  उनले भने, ‘अभियानअन्तर्गत जिल्लादेखि पालिका, वडा, बस्तीस्तर हुँदै स्कुल कलेजसम्म लालटिन समूह गठन गरी काम गरिएको छ । समुदायसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।’
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कर्णाली प्रदेशमा १ सय २९ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । सो अवधिमा ८२ वटा मुद्दा दर्ता भएका छन् ।  यसैगरी आर्थिक वर्ष २०७९÷८० मा २ सय १५ जना पक्राउ परेका थिए । उक्त आर्थिक वर्षमा १ सय १४ मुद्दा दर्ता भएका थिए । यसैगरी आर्थिक वर्ष २०७८÷७९ मा १ सय ७२ जना मानिस पक्राउ परेका थिए भने ९५ मुद्दा दर्ता भएका थिए ।  अभियानअन्तर्गत चालु आर्थिक वर्षमा २५ रोपनी जग्गामा लगाएको गाँजा र ६ सय १८ रोपनी जग्गामा लगाएको अफिमको खेती फडानी गरिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार