कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव

शनिबार, वैशाख ८, २०८१

विराटनगर । कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई रगत अभाव भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन् । केही समययता कोशी प्रदेशभरकै अस्पताल एवम ब्लड बैंकहरुमा रगतको अभाव छ । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए । उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरू मर्कामा परेका छन् । ‘स्वास्थ्य संस्थामा रगत आवश्यक पर्ने बिरामीको चाप बढ्दो छ । माग अत्यधिक छ,’ यादवले भने, ‘तर, आपूर्तिलाई सहज बनाउन सकिएन । सबैतिर अभाव खड्किएको छ ।’ माग अनुसारको आपूर्ति गर्न नसक्दा रगतकै कारण बिरामीले सहज उपचार पाउने वातावरण नबनेको जानकारी उनले दिए । रगतको संकट टार्नलाई रक्तदानको नियमित व्यवस्थासमेत नभएको जानकारी यादवले दिए । उनका अनुसार वैशाख लागेपछि संस्थागत हिसाबले रक्तदान हुन नसकेर रगत संकलनमा कमी भएको छ । बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट मुस्किलले रगतको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । प्रदेशमा दैनिक करिब दुई सय पिन्ट रगतको माग रहेको र आपूर्ति भने ५० प्रतिशतजति पनि हुन नसकेको उनले बताए । ‘कोशी प्रदेशमा १० वटाजति ब्लड बैंक छन्,’ यादवले भने, ‘सबैमा अभाव हुँदा रगतको माग धान्न मुस्किल परिरहेको छ ।’ नियमित रगत चाहिने बिरामीले समेत पाउन नसकेको बताउँदै उनले आपूर्ति सहज बनाउने उपायको खोजी भइरहेको उल्लेख गरे । कोशी प्रदेशका स्वास्थ्य संस्थामा कोशीसहित मधेस प्रदेश र भारतबाट बिरामी आउँछन् । बिरामीले रगतका लागि आफन्त, सम्पर्कमा भएका व्यक्ति र सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ । रगत अभावका कारण बिरामीलाई बचाउन मुस्किल परिरहेको यादव बताउँछन् । उनका अनुसार विभिन्न तीन सयजति संघ संस्थाले वार्षिक कार्यक्रम बनाएरै रक्तदान कार्यक्रम गर्ने गरेका छन् । तर, अहिले सार्वजनिक हिसाबले रक्तदान नभएका कारण पर्याप्त रगत उपलब्ध गराउन नसकिएको उनले बताए । पछिल्लो समय रगतका लागि बिरामीले सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ । रगतको संकट सुरक्षाकर्मीले टार्दै आएका छन् । कतै नपाएर आपत परेका बेला बिरामीका आफन्तले रगतका लागि सुरक्षाकर्मीलाई सम्झने गरेका हुन् । रगतको अपेक्षा गरेर बिरामीका आफन्त नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीलगायतका निकायको सम्पर्कमा पुग्ने गरेका छन् । सुरक्षाकर्मीले रगत दिएर कतिपय बिरामीको ज्यान बचाइरहेका छन् । ‘रगत चाहियो भनेर धेरै फोन आउने गरेको छ,’ सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल भन्छन्, ‘मिल्दोजुल्दो समूहको रगत भएकालाई तत्काल बिरामीका आफन्तको सम्पर्कमा पठाएर उपलब्ध गराउने गरिएको छ ।’ विभिन्न अवसर पारेर पनि सुरक्षा निकायले रक्तदान कार्यक्रम गर्ने गरेको उनले बताए । एकै ठाउँमा ठूलो संख्या र समूहमा बस्ने भएकाले तत्काल पाउन सकिने हुँदा सुरक्षाकर्मीसँग सर्वसाधारणले रगतका अपेक्षा गर्ने गरेको पोखरेल बताउँछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार