सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा सेप्टेम्बर र अक्टोबर महिनामा कोरोनाभाइरस महामारी उत्कर्षमा पुगेर ओरालो लागेको विज्ञहरूको ठम्याइ छ । तर केही सातायता परीक्षणको संख्या घटेकाले वृद्धवृद्धा तथा जोखिममा रहेका मानिसहरू खतरामा पर्ने चिन्ता उनीहरूले प्रकट गरेका छन् । कुनै बेला दैनिक १५,००० भन्दा धेरै संख्यामा पीसीआर परीक्षण हुने गरेकोमा हिजोआज उक्त संख्या ५,००० को हाराहारीमा झर्न थालेको देखिन्छ । त्यसमध्ये पनि उल्लेखनीय संख्या त विदेश जान विमान चढ्नका लागि अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट आवश्यक पर्ने व्यक्तिहरूको रहने गरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार अचेल दैनिक सरदर ५००–६०० मानिस विदेश जान्छन् । ‘धेरै उडान हुनेहुँदा बिहीवार चाहिँ १,५०० जति मानिसहरू त्रिभुवन विमानस्थलबाट बाहिरिन्छन्’, प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । विमान चढ्न पीसीआरको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने हुँदा तिनले परीक्षण गराउनैपर्छ । तिनको संख्या कटाउने हो भने त दैनिक परीक्षण अझ कमै मानिसले गरेको देखिन्छ । कुनै समय परीक्षण गराएकामध्ये २५ प्रतिशतको हाराहारीमा सङ्क्रमित भेटिने दर चाहिँ अहिले १५ प्रतिशतको हाराहारीमा झरेको छ । दर घट्नुलाई सकारात्मक मानिए पनि त्यसले अझै अत्यधिक पनि समुदायमा सङ्क्रमण रहेको जनाउँछ । ‘अहिले त कस्तो भइदियो भने मानिसहरू लक्षण नदेखिईकन परीक्षण गराउन नै आउँदैनन् । परीक्षण गरेर मात्र निको हुने होइन भन्ने सोच विकसित भइरहेको पाइन्छ’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए ।
कम परीक्षणको ठूलो खतरा के हो ? थोरै संख्यामा परीक्षण गर्दा वास्तविकता लुक्ने अनि सङ्क्रमण समुदाय भित्रभित्रै भुसको आगोसरह फैलिने सम्भावना बढ्ने विज्ञहरू बताउँछन् । ‘हाम्रो सामु चुनौती के छ भने यदि मानिसहरूले यसरी परीक्षण नगराएमा उनीहरूले घरघरमा वृद्धवृद्धालाई वा जोखिम समूहलाई नजानीकन सारिदिन सक्छन्, जसले आगामी दिनमा गम्भीर बिरामी र मृत्यु बढाउन सक्छ’, डा. कार्कीले भने । उनका अनुसार त्यसले सङ्क्रमणको घातक दोस्रो लहर ल्याउन सक्ने डर हुन्छ । हुन त अहिलेसम्मका सरकारी तथ्यांक हेर्ने हो भने परीक्षण कम भइरहेको भए पनि सघन उपचार आईसीयू वा भेन्टिलेटर आवश्यक पर्ने बिरामीहरूको सख्या स्थिर नै देखिन्छ । कुनै समय दैनिक प्रतिवेदनमा आईसीयूमा झन्डै ४०० बिरामी रहेको देखिने गरेकोमा अचेल त्यो ३०० को हाराहारीमा रहेको छ । ‘खतरा टरेको छैन’ तर यो कुनै पनि हालतमा बेवास्ता गर्नुपर्ने समय नभएको अर्का विशेषज्ञ डा. अनुप सुवेदीले बताए । ‘परीक्षण नगराउनुको थुप्रै बेफाइदा हुन्छ । कोही मानिस अस्पताल लानुपर्ने गरी बिरामी भयो भने यदि उसले पहिले नै परीक्षण गराएको रहेछ भने त्यहीअनुसार छिटै उपचार पाउँछ । होइन भने या त उसको उपचारमा ढिलाइ हुन्छ या अनावश्यक एन्टीबायोटिक वा औषधिमा समय र स्वास्थ्य बर्बाद हुन्छ’, उनले भने । यति नै बेला समाजमा भने मानिसहरू निस्फिक्री भइरहेको भान हुन्छ । भोजभतेर, विवाह–समारोह, जुलुसजस्ता भिडभाड हुने काम बढिरहेका छन् । जनस्वास्थ्यको दृष्टिकोणले त्यो घातक हुनसक्ने विज्ञहरूको मत छ । ‘अहिले विश्वमा खोप पनि दिन थालिएको छ । तर हामीकहाँ त्यो आइपुग्न अझै महिनौँ वा वर्षाैं लाग्न सक्छ । त्यतिन्जेल हामीले सतर्क हुनैपर्छ । हामीले जनस्वास्थ्यका मापदण्डको ख्याल गर्नैपर्छ’ डा. सुवेदीले बताए ।
ठूलो स्तरको परीक्षणको तयारी थोरै परीक्षणले सङ्क्रमणलाई घरघरमा विस्तार गराउन सक्ने खतरा रहेको भन्दै अब सरकारले फेरि ठूलो स्तरको परीक्षणको तयारी गरिरहेको डा. कार्कीले बताए । सरकारले काठमाडौं उपत्यकामा एन्टिजन विधिबाट परीक्षण गर्ने तयारी गरेको छ । केही साताअगाडि सरकारले द्रुत एन्टिजन विधिबाट काठमाडौंमा एक लाख मानिसको परीक्षण गर्ने बताए पनि त्यो त्यत्तिकै सेलाएर गएको थियो । अब भने राजधानी उपत्यकामा डेढ लाख मानिसको द्रुत एन्टिजन विधिबाट परीक्षण गरिने तयारी भएको डा. कार्कीले बताए । पीसीआरजत्तिको भरपर्दाे नभए पनि विश्वका कतिपय देशले समुदायमा एन्टिजन विधिबाट परीक्षण गरिरहेको बताइन्छ । ‘हिजोमात्र एक लाख एन्टिजन किट आइपुगेका छन् र थप ५०,००० आउँदैछन्। धेरै सङ्क्रमित भेटिएका स्थानमा अब हामी यसमार्फत् परीक्षण गर्छाै’, उनले भने । यसलाई सक्रिय सर्भेलन्स भनिने र यसबाट समुदायमा सङ्क्रमण कति छ भन्ने पनि थाहा हुने उनले बताए ।–बीबीसी