बहराइनमा चिनियाँ कोरोना खोप प्रयोग गर्न अनुमति

बुधबार, पुस १, २०७७

सिनोफार्मको कोरोना खोप ८६ प्रतिशत प्रभावकारी 

काठमाडौं । बहराइनले चीनले बनाएको कोरोनाभाइरसविरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ ।  चाइना नेसनल फर्मास्युटिकल ग्रुप सिनोफार्म ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्‍वान गरेको छ । आइतबार बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण९एनएचआरए० ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो । एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्नेचाहिँ खुलाएको छैन । तर तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ । बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका नागरिकले कोरोना खोप लगाउन दर्ता गर्न सक्ने बताएको छ । बहराइनले नागरिकलाई कोरोना खोप निस्शुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसअघि यूएईमा गरिएको परीक्षणमा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता ८६ प्रतिशत देखिएको बताइएको थियो । यूएईले १२५ देशका करिब ३१ हजार व्यक्ति उक्त खोपको परीक्षणमा सहभागी भएका थिए । गत महिना सिनोफार्मले करिब १० लाख मानिसले आफूले बनाएको कोरोना खोपको आपत्कालीन रुपमा लगाएको बताएको थियो । उक्त खोपको परीक्षण अर्जेन्टिना र मोरक्कोमा समेत भएको बताइएको छ । पेरुले भने सहभागी व्यक्तिमा साइड इफेक्ट देखिएको उल्लेख गर्दै सिनोफार्मको कोरोना खोपको परीक्षण रोकेको छ । चीनले आधिकारिक रुपमा कोरोना खोप लगाएका व्यक्तिको जानकारी उपलब्ध नगराएका कारण भने यसको प्रभावकारिताबारे जनस्वास्थ्यविद्हरुले आशंका व्यक्त गरेका छन् । मिडिया रिपोर्टहरुमा आधारित भएर गार्जियनले प्रकाशित गरेको समाचारअनुसार सिनोफार्मले यही वर्ष करिब १० करोड डोज कोरोना खोप उत्पादन गर्नेछ । साथै उत्पादन क्षमता ३० करोड डोजसम्म पुग्न सक्ने सम्भावना रहेको पनि बताइएको छ । गत हप्ता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यस वर्षभित्रै चीनले करिब ६० करोड डोज कोरोना खोप उत्पादन गरी बजारमा पठाउने बताएका थिए । बहुराष्ट्रिय कम्पनी फाइजरले बनाएको कोरोना खोप प्रयोगका लागि बेलायत, बहराइन, क्यानडा, साउदी अरबले अनुमति दिइसकेका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले भने सोमबारदेखि फाइजरको कोरोना खोप अभियान सुरु गर्ने बताएको छ । चिकित्सकीय परीक्षणमा फाइजरको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको थियो । यो खोप २१ दिनको अन्तरमा दुई डोज दिनुपर्ने बताइएको छ । तर यो खोप माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद् बताउँछन् । एजेन्सी

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार