स्वास्थ्य नीति निर्माणमा अनुसन्धानको भूमिका महत्वपूर्ण’

बुधबार, चैत २८, २०८०

काठमाडौं । नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलन आजबाट शुरु भएको छ । सम्मेलनमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न स्वास्थ्य अनुसन्धानको महत्वपूर्ण भूमिका हुने बताएका छन् । 
‘स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न अनुसन्धानको महत्वपूर्ण भूमिका रहेको छ । स्वास्थ्य अनुसन्धानकै महत्वपूर्ण तथ्य प्रमाणका आधारमा स्वास्थ्य चुनौतीहरुको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्त गर्न हाम्रा प्रयासहरुलाई मार्गदर्शन गर्दछ,’ मन्त्री यादवले भने । 
बुधबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा आयोजित नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनमा स्वास्थ्यमन्त्री यादवले खोज अनुसन्धानबाटै महत्वपूर्ण तथ्य प्रमाण आउने बताए । उनले खोजमा आधारित तथ्य र अनुसन्धानले नै दिगो विकास लक्ष्यको मूल सिद्धान्त अनुरुप स्वास्थ्य क्षेत्रमा विद्यमान चुनौति र असमानताहरुलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
स्वास्थ्य अनुसन्धानले उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रवृति र समस्याहरूको पहिचान गरी समयमै सम्भावित चुनौतिको सामना गर्ने विकल्पहरू आंकलन गर्न समेत सहयोग पुग्ने यादवले बताए । 
स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने धारणा राखेका उनले  स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलनले महत्वपूर्ण निणर्य र कार्ययोजना बनाउने अपेक्षा व्यक्त गरे । 
कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रो।डा। घननाथ बरालले मानव स्वास्थ्य र समाज स्वास्थ्यमा हुने अनुसन्धान सबैको लागि भएको उल्लेख गर्दै शिखर सम्मेलनबाट स्वास्थ्य क्षेत्रका लागि आवश्यक कामका लागि सहयोग पुग्ने बताए । सम्मेलनमा विभिन्न देशबाट आएका अनुसन्धानकर्ता, स्वास्थ्य विज्ञहरु तथा स्वास्थ्य वैज्ञानिकहरुको सहभागीता रहेको छ । बुधबारदेखि काठमाडौंमा शुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ ।  
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार